काठमाडौँ । ह्वाट्सएपले प्रयोगकर्तालाई च्याटमा नपढिएका (unread) मेसेजहरू सजिलै बुझ्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । ‘मेसेज समरी’ नामक यो फिचरमार्फत प्रयोगकर्ताले नपढिएको मेसेजलाई एआईको सहायतामा छोटकरीमा बुझ्न सक्नेछन् ।
ह्वाट्सएपका अनुसार यो फिचर मेटाको ‘प्राइभेट प्रोसेसिङ’ प्रविधिमा आधारित छ । जसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्दै च्याटको छोटो सारांश तयार गर्छ । यसमा कुनै तेस्रो पक्षले मात्रै होइन, मेटा र ह्वाट्सएपले समेत प्रयोगकर्ताको च्याट वा समरी पढ्न सक्दैनन् । च्याटमा सहभागी अन्य व्यक्तिहरूलाई पनि तपाईंले बनाएको मेसेज समरी देखिँदैन ।
यो फिचर हाल अमेरिकी प्रयोगकर्ताहरूका लागि अंग्रेजी भाषामा उपलब्ध छ । कम्पनीले यो वर्षभित्र अन्य देश र भाषामा पनि विस्तार गर्ने जनाएको छ ।
मेसेज समरी फिचर डिफल्ट रूपमा अफ रहनेछ । प्रयोगकर्ताले चाहेमा मात्रै ‘एडभान्स च्याट प्राइभेसी’ सेटिङमार्फत कुन कुन च्याटमा एआई फिचर प्रयोग गर्ने भन्ने निर्णय गर्न सक्नेछन् ।
यसअघि एक महिनाअघि मात्रै ह्वाट्सएपले यो फिचर परीक्षण चरणमा रहेको जानकारी दिएको थियो । अहिले भने यसको परीक्षण सकिएर स्थायी रुपमा सार्वजनिक गरिएको हो । प्रयोगकर्ताले च्याटमा देखिएको ‘अनरिड मेसेज काउन्ट’ मा ट्याप गर्दा उक्त च्याटको छोटो बुलेट पोइन्ट समरी हेर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५०
