काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा मूल प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातका लागि परीक्षा नियन्त्रण कार्यालय (पनिका), बल्खु धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । पनिकाले आफ्ना १० प्रमुख सेवाहरू भोलिदेखि पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने घोषणा गरेको हो ।
सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन यो कदम चालिएको पनिकाले जनाएको छ । दीक्षान्त समारोहका लागि अनलाइन फाराम र TUEIMS प्रविधिको सफल प्रयोगप तथा अनलाइन भुक्तानीको सफल परीक्षणपछि परीक्षा प्रणालीलाई पूर्ण विद्युतीयकरण गर्ने लक्ष्यअन्तर्गत यो व्यवस्था लागु गर्न लागिएको हो ।
पनिकाका अनुसार अब विद्यार्थीले आधिकारिक अनलाइन पोर्टल प्रयोग गरी निम्न सेवाहरूका लागि घरबाटै आवेदन दिन सक्नेछन्:
१. नयाँ रजिस्ट्रेसन आवेदन फाराम
२. परीक्षा आवेदन फाराम
३. ट्रान्सक्रिप्ट आवेदन फाराम
४. प्रोभिजनल सर्टिफिकेट
५. मूल प्रमाणपत्र
६. पुनर्योगका लागि आवेदन फाराम
७. शैक्षिक कागजातमा नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउने फाराम
८. विभिन्न सिफारिस पत्रहरू
९. प्रमाणपत्रहरूको प्रमाणीकरण
१०. ट्रान्सक्रिप्ट र मार्कसिटको प्रतिलिपि
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५२
