काठमाडौँ । अभिनेत्री ऋचा शर्माले आफूलाई फेसबुकको इनबक्समा अश्लील मेसेज पठाउने केही प्रयोगकर्ताको स्क्रिनशट सार्वजनिक गरिन् । त्यही लहर पछ्याउँदै गायिका समीक्षा अधिकारी र एलिना चौहानले पनि आफूमाथि निरन्तर चरित्रहत्या गर्ने र अभद्र कमेन्ट गर्नेहरूको प्रोफाइल सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । त्यसैगरी टिकटकर तथा मोडेल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले आफूलाई अभद्र टिप्पणी गर्ने एक व्यक्तिको स्क्रिनशट उक्त व्यक्तिको परिवारलाई नै पठाइदिए । र, त्यसको भिडिओ टिकटकमा राखे ।
यी सामाजिक सञ्जालमा महिला कलाकारहरूले भोग्नुपरेका दुर्व्यवहारका केही प्रतिनिधि घटना मात्र हुन्, जुन् सार्वजनिक भए । गायिका अभया सुब्बाले केही समयअघि क्रिकेटर सन्दीप लामिछानेको विपक्षमा आफ्नो धारणा राख्दा नकारात्मक टिप्पणीको सामना गर्नुपर्यो । नायिका प्रियङ्का कार्कीले गर्भावस्थामा ‘बेबी बम्प’ सहितका तस्बिर सार्वजनिक गर्दा ट्रोल र नकारात्मक टिप्पणीको सामना गर्नुपर्यो । त्यस्तै कलाकार दीपा श्री निरौला ‘महानायक विवाद’मा मुछिँदा त्यसरी नै नकारात्मक कमेन्टको मारमा परिन् ।
कलाकार मात्र होइन, महिला राजनीतिज्ञ पनि यस्ता दुर्व्यवहारबाट अछुतो छैनन् । ओपन नेपाल इनिसियटिभ्सले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पूर्वमन्त्री आरजु राणा देउवा, सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद तोषिमा कार्की र सोविता गौतम जस्ता राजनीतिज्ञले निरन्तर रूपमा नकारात्मक र लैङ्गिक कमेन्टको सामना गरिरहेका छन् ।
महिला मात्र नभई पुरुष कलाकार तथा राजनीतिज्ञले पनि सामाजिक सञ्जालमा उत्तिकै नकारात्मक टिप्पणीको सामना गरिरहेका हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली यसका एक प्रमुख उदाहरण हुन् । उनले पनि बारम्बार नकारात्मक कमेन्टको सामना गरिरहेका छन् ।
केही समयअघि पोखरामा हाइड्रोजनयुक्त बलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकका मेयर धनराज आचार्य घाइते भए । त्यस्तोमा सहानुभूति पाउनुपर्नेमा उनीहरूले नकारात्मक कमेन्ट र ‘हार्दिक श्रद्धाञ्जली’ जस्ता तिखा शब्दको प्रहार सहनुपर्यो ।
नेपाल विद्युत प्राधिकरणबाट लोकप्रियता कमाएका कुलमान घिसिङ प्रबन्ध निर्देशकबाट हटेसँगै हितेन्द्रदेव शाक्य नियुक्त भए । त्यसपछि शाक्यले पनि त्यस्तै नकारात्मक कमेन्टको सामना गर्नु पर्यो । झन् समय समयमा बत्ती जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ताले पोस्ट राख्दै शाक्यलाई नै यसको दोष देखाउँदै नकारात्मक टिप्पणीको वर्षात् गर्न थाले । त्यो क्रम अहिले पनि जारी छ ।
त्यस्तै नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीले समेत सामाजिक सञ्जालमा हुने गालीगलौज र नकारात्मक टिप्पणीको सामना गर्नुपरेको छ । गत १५ चैतको राजावादी आन्दोलनपछि त नेपाल प्रहरीको सामाजिक सञ्जालका ह्यान्डलमा नकारात्मक कमेन्टको बाढी नै आयो । यीमध्ये कतिपय घटना सार्वजनिक भए भने कतिपय पीडितले भित्रभित्रै सहेर बसेका छन् । कुनै पनि विषयमा विवादित हुँदा त्यस व्यक्तिले नकारात्मक कमेन्टको सामना गरिरहेको हुन्छ । त्यस्तो नकारात्मक कमेन्टको सामना गर्ने व्यक्ति कति छन् भन्ने यहाँ उल्लेख गरी साध्य छैन । यो प्रवृत्तिले नेपाली सामाजिक सञ्जालमा मौलाउँदै गएको एउटा गम्भीर विकृतितर्फ सङ्केत गरेको छ । त्यो हो नेपाली समाजमा नकारात्मक, अपाच्य र अश्लील टिप्पणी गर्ने होडबाजी ।
इन्टरनेटको सहज पहुँच र हातहातमा स्मार्टफोनको उपलब्धताले यो समस्यालाई झनै विकराल बनाएको छ । तर, मानिसहरू किन यसरी सामाजिक सञ्जालमा नकारात्मक र आक्रामक हुन्छन् ? यसका पछाडि गहिरा मनोवैज्ञानिक, सामाजिक र प्राविधिक कारण छन् ।
मानिसहरूले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्नुको सबैभन्दा प्रमुख कारणमध्ये एक हो- गुमनाम रहन पाइने सुविधा । वास्तविक जीवनमा भेटेर भन्न नसकिने कठोर र अश्लील कुरा पनि अनलाइनमा सजिलै लेख्न सकिन्छ । किनकि त्यहाँ आफ्नो पहिचान लुकाउन सकिन्छ । मनोविज्ञानमा यसलाई ‘अनलाइन डिसइन्हिबिसन इफेक्ट’ (Online Disinhibition Effect) भनिन्छ । प्रयोगकर्तालाई उसको पहिचान गोप्य छ र उसले गरेको कमेन्टको प्रत्यक्ष परिणाम भोग्नु पर्दैन भन्ने सोच आयो भने सामाजिक र नैतिक बन्धन कमजोर हुन्छन् ।

यही कारणले मानिस वास्तविक जीवनमा भन्दा अनलाइनमा बढी आक्रामक र असंवेदनशील देखिन्छन् । गायिकाद्वय चौहान र अधिकारीले नकारात्मक कमेन्ट गर्ने व्यक्तिको फोटो सार्वजनिक गर्न थालेसँगै पछिल्लो समय छद्म नाम राखेर झनै अश्लील र अपाच्य कमेन्ट गर्नेहरू बढेका छन् ।
यसबाहेक अर्को महत्त्वपूर्ण मनोवैज्ञानिक पक्ष हो- ‘तनाव र कुण्ठाको व्यवस्थापन’ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सिद्धार्थ ढुङ्गानाका अनुसार आधुनिक जीवनशैलीको दौडमा पछि परेको महसुस गर्दा वा आफ्नो जीवनमा असफलता र निराशा छाउँदा मानिसमा एक प्रकारको चिन्ता र तनाव उत्पन्न हुन्छ ।
यही तनाव पोख्ने माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग हुन्छ । डा. ढुङ्गाना भन्छन्, “मान्छेले सहरी मनोविज्ञानलाई आत्मसात् गर्न नसक्दा चिन्तामुक्त गर्ने बहानामा सामाजिक सञ्जालको प्रयोग गर्छन् । खासगरी आधुनिकीकरण विस्तार भइरहेको अवस्थामा आफू अगाडि बढ्न सकिरहेको हुँदैन । त्यसमा साइकोलोजीलाई रिल्याक्स चाहिन्छ । यसको रिल्याक्सिङ प्रोसेसमा मान्छे नकारात्मक टिप्पणी गर्छ ।”
मनोविद् अनिता प्रजापतिको विचारमा सामाजिक सञ्जालको लतले पनि मानिसलाई नकारात्मक बनाउँछ । उनी भन्छिन्, “सामाजिक सञ्जालको लत लागेपछि अरू विषयमा ध्यान केन्द्रित हुन सकिँदैन । जसले गर्दा काममा असर पर्ने, जाँगर नलाग्ने, कामै नगर्ने, अध्ययन नगर्ने बानी बस्छ । यस्तो हुँदा व्यक्तिमा आर्थिक र मानसिक असर पर्छ । त्यही आवेग पोख्ने ठाउँ सामाजिक सञ्जाल बनिदिन्छ ।”
सामाजिक सञ्जालको अर्को विशेषता भनेको यहाँ नकारात्मक र विवादास्पद कुराले छिट्टै चर्चा पाउँछ । सकारात्मक टिप्पणीभन्दा गालीगलौज र आक्रामक विचारले धेरैको ध्यान खिच्छ । ‘भाइरल हुने’ वा चर्चामा आउने यही मोहले पनि केही प्रयोगकर्तालाई जानी-जानी नकारात्मक टिप्पणी गर्न उक्साउँछ । जब उनीहरूको कमेन्टमा लाइक र समर्थन आउन थाल्छ उनीहरू थप हौसिन्छन् र यस्तो व्यवहारलाई निरन्तरता दिन्छन् । जब कुनै पोस्टमा एक व्यक्तिले नकारात्मक टिप्पणी सुरु गर्छ, त्यसपछि अरू पनि त्यही लहरमा सामेल हुन्छन् । यसलाई ‘ब्यान्डवागन इफेक्ट’ वा भीड मानसिकता भनिन्छ । नकारात्मक विचार राख्नेको सङ्ख्या बढ्दै जाँदा अरूलाई पनि त्यस्तै टिप्पणी गर्न नैतिक बल मिल्छ र यो एउटा विषाक्त व्यवहारमा परिणत हुन्छ ।
जुन व्यक्तिमा आत्म-सम्मानको कमी हुन्छ, उनीहरू अरूको आलोचना गरेर वा होच्याएर आफूलाई अब्बल देखाउने प्रयास गर्छन् । सामाजिक सञ्जालमा अरूको सफलता र खुसीसँग आफ्नो जीवन दाँज्दा उत्पन्न हुने ईर्ष्या र निराशा पनि नकारात्मक टिप्पणीका रूपमा पोखिन सक्छ । डिजिटल स्क्रिनले मानिसबीच एक प्रकारको भावनात्मक दूरी सिर्जना गरेको छ । स्क्रिनको पछाडि बसेर लेख्दा (कमेन्ट गर्दा) आफ्नो शब्दले अर्को व्यक्तिलाई कस्तो असर पार्छ भन्ने कुराको महसुस हुँदैन जसले मानिसलाई अरूप्रति कम सहानुभूति राख्ने र बढी कठोर बनाउँछ । त्यस्तै कमेन्ट गर्दा अरुलाई थाहै हुँदैन भन्ने मानसिकता पनि छ । यसलाई नेपालीमा विषाक्तता र अङ्ग्रेजीमा ‘टक्सिसिटी’ पनि भनिन्छ ।
कलाकारले आफूलाई नकारात्मक कमेन्ट गर्नेहरूको प्रोफाइल सार्वजनिक गरिदिँदा ती व्यक्ति माफी माग्न थाल्छन् । सामान्यतयः कमेन्ट मात्र गर्दा कसले देख्यो वा पढ्यो भन्ने कुराको वास्ता हुँदैन । त्यसमा आउने केही ‘रियाक्सन’ वा ‘रिप्लाई’ले थोरै जानकारी दिए पनि त्यसको ठुलो असर पर्दैन । तर, कलाकारले त्यही नकारात्मक कमेन्ट र कमेन्ट गर्ने व्यक्तिको पहिचान नै ‘पोस्ट’ मार्फत सार्वजनिक गरिदिंदा अवस्था बदलिन्छ । त्यसपछि कलाकारका समर्थक ती व्यक्तिमाथि खनिन पुग्छन् ।
यसले गर्दा उनीहरूलाई तत्कालै आफ्नो गल्तीको महसुस भई आत्मग्लानि हुन्छ र उनीहरू माफी माग्न बाध्य हुन्छन् । जबसम्म यसरी पहिचान सार्वजनिक हुँदैन उनीहरूलाई ‘एउटा कमेन्टले के नै असर पर्छ र ?’ भन्ने लाग्छ । सायद उनीहरूलाई चिन्ने व्यक्तिले कमेन्ट देखे पनि त्यसलाई ठुलो मुद्दा बनाउँदैनन् भन्ने सोचले नै यस्तो मानसिकता विकास भएको देखिन्छ ।
सामाजिक सञ्जालमा के गर्दा त्यो अपराध हुन्छ भन्ने विषयको सामान्य चेत नहुँदा पनि नकारात्मक टिप्पणी बढ्ने गरेको देखिन्छ । देशभरका विभिन्न अदालतमा दर्ता हुने विद्युतीय कारोबार ऐनसँग सम्बन्धित अभियोगपत्रबाट यो विषय पुष्टि हुन्छ । आरोपित व्यक्तिले ‘आबेगमा आई नकारात्मक टिप्पणी गरेको वा अश्लील तथा अपाच्य शब्दसहितका मेसेज पठाएको’ स्वीकार्ने गरेका छन् । यसमा उनीहरू एउटा दोष क्षणिक आवेगलाई र अर्को कानूनबारे अनविज्ञतालाई दिन्छन् । तर, कानूनको अज्ञानता क्षम्य मानिँदैन ।
सामाजिक सञ्जालमा नेपाली भाषा फिल्टर गर्ने अप्सन नहुँदा पनि यस्ता समस्या व्यापक रूपमा मौलाएका छन् । अश्लील अर्थ लाग्ने सयौं शब्दहरू छन् जसलाई सामाजिक सञ्जालका एआई बटले पहिचान गर्न सक्दैनन् । त्यस्ता कमेन्ट वा पोस्ट रिपोर्ट गर्दा पनि सामाजिक सञ्जालले कुनै प्रतिक्रिया जनाउँदैनन् । उदाहरणका लागि तपाईंले महिला, बालबालिका, लैङ्गिक अल्पसङ्ख्यक वा विशेष क्षमता भएका व्यक्तिलाई होच्याएर वा बदनाम गराउने नियतले अङ्ग्रेजीमा पोस्ट गर्नुभयो वा कमेन्ट नै गर्नुभयो भने तपाईंको अकाउन्ट सब्सपेन्ड हुने सम्भावना उच्च हुन्छ । तर, भाषाकै कारण यस्ता शब्द नेपालीमा राख्दा तत्कालै एआईले पहिचान गर्न सक्दैन । तर, एआई प्रणाली दिनानुदिन अत्यधुनिक हुँदै जाँदा सधैं यही समस्या हुन्छ भन्ने हुँदैन ।
त्यसैले प्रयोगकर्ताले अहिले कतै त्यस्ता कमेन्ट गरेको छ । र, निकट भविष्यमा एआईले ती शब्द पहिचान गर्यो भने त्यतिबेला पनि सामाजिक सञ्जालको अकाउन्ट सस्पेन्ड हुन सक्छ । तत्कालका लागि यस्तो व्यवस्था नहुँदा सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताले अत्यधिक नकारात्मक कमेन्ट गर्ने गरेको देखिन्छ ।
यस्ता मनोवैज्ञानिक कारणले उत्पन्न हुने दुर्व्यवहारको शृङ्खला बढ्दै गएपछि पीडित विशेषगरी कलाकारले अनलाइन दुर्व्यवहारविरुद्ध आफै प्रतिकार गर्न थालेका छन् । गायिका समीक्षा अधिकारीका अनुसार साइबर ब्युरोमा पटक-पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएपछि उनी आफै नकारात्मक टिप्पणी गर्नेहरूलाई सार्वजनिक गर्न बाध्य भइन् । उनले आफ्नो पीडा पोख्दै भनिन्, “मैले सुरुवाति दिनदेखि नै धेरै जना विरुद्ध ब्युरोमा उजुरी दिएकी थिएँ । तर आजसम्म उनीहरूलाई केही कारबाही नै भएन । ब्युरोले उजुरीमा खासै मतलब नगर्ने, अनुसन्धान नै नगर्ने रहेछ ।”
आफूलाई एआई प्रयोग गरेर चरित्र हत्या गर्ने व्यक्ति खुलेआम हिँड्दा पनि कारबाही नभएकोमा आक्रोशित हुँदै उनले थपिन्, “त्यो मान्छे खुलेआम हिँडिरहेको छ, तर कारबाही भएको छैन । यसलाई ब्युरोले बेवास्ता गरेकै भन्नु पर्यो ।” यही निष्क्रियताका कारण आफूले नयाँ बाटो रोजेको उनी बताउँछिन् । “अब म आफैँले यस्ता व्यक्तिलाई समात्ने हो । जसले नकारात्मक कमेन्ट गर्छ, त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गरी दिने तरिका अपनाएकी हुँ,” उनले भनिन् । यद्यपि, उनको उद्देश्य कसैलाई दुःख दिनु नभई गल्तीको महसुस गराउनु मात्र हो । “मलाई यस्ता कमेन्टले अब केही फरक पर्दैन, म धेरै कुरा सहेर यहाँसम्म आएकी हुँ । तर अरूको चरित्रमाथि औंला उठाउँदा कस्तो हुँदो रहेछ भन्ने कुरा उनीहरूले पनि महसुस गरुन् भन्ने मात्र मेरो चाहना हो,” उनले स्पष्ट पारिन्।
गायिका एलिना चौहान र समीक्षा अधिकारीले चलाएको अभियानलाई व्यापक समर्थन मिल्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कलाकारको यस कदमको प्रशंसा गरे ।
कमेन्ट र पोस्ट सार्वजनिक गरिरहँदा पनि नकारात्मक कमेन्ट गर्नेहरू बढेपछि चौहानले सोमबार साइबर ब्युरोमा चार जना विरुद्ध उजुरी दिएकी छिन् ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भने यो समस्यालाई फरक दृष्टिकोणबाट हेर्छन् । उनका अनुसार दण्ड र कारबाहीले मात्र यो विकृति रोकिँदैन । उनी भन्छन्, “मानिसले सामाजिक सञ्जालमा आफू र पीडित मात्रै छौँ भन्ने सोच्छन् । तर त्यो गलत हो । त्यहाँ उनीहरूलाई परिवार, आफन्त र सारा समाजले हेरिरहेको हुन्छ । आफ्नो परिवारले देख्दा के सोच्लान् भन्ने मात्रै विचार गर्ने हो भने पनि यस्ता गतिविधि धेरै कम हुन्छन् ।”
प्रहरीको क्षमता र कानुनी सीमितताबारे उनी भन्छन्, “अहिलेकै अवस्थामा प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा आएका उजुरीको चाङ फर्छ्यौट गर्न ३-४ वर्ष लाग्ने अवस्था छ । स्रोत, साधन र जनशक्ति नदिई प्रहरीलाई मात्रै नियन्त्रण गर भन्नु व्यवहारिक हुँदैन ।” उनले पीडितलाई नकारात्मक टिप्पणीलाई बेवास्ता गर्न पनि सुझाव दिए । “मलाई पनि सामाजिक सञ्जालमा धेरै गाली आउँछन् तर म त्यस्ता टिप्पणी हेर्दिनँ र पछि पनि लाग्दिनँ । कतिपय अवस्थामा यस्ता गतिविधिलाई बेवास्ता गर्दा ती आफैँ निस्तेज हुन्छन्,” उनले आफ्नो अनुभव सुनाए ।
सामाजिक सञ्जालमा देखिने यो विकृति एक जटिल समस्या हो । यसका पछाडि मनोवैज्ञानिक, सामाजिक र प्राविधिक प्रणालीगत कारण छन् । यसको समाधानका लागि कानुनी कारबाहीलाई प्रभावकारी बनाउनु त जरुरी छ नै । त्योभन्दा बढी महत्त्वपूर्ण डिजिटल साक्षरता र नैतिक शिक्षा हो । प्रयोगकर्ता आफै सचेत नभएसम्म र आफ्नो डिजिटल व्यवहारप्रति जिम्मेवार नबनेसम्म यो समस्या पूर्ण रूपमा हट्ने देखिँदैन ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५७
