close

नेताहरूमाथि किन यति धेरै नकारात्मक कमेन्ट गर्छन् सामाजिक सञ्जाल प्रयोगकर्ता ?

टेकपाना टेकपाना

फागुन ३, २०८१ २२:५४

नेताहरूमाथि किन यति धेरै नकारात्मक कमेन्ट गर्छन् सामाजिक सञ्जाल प्रयोगकर्ता ?

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन कार्यक्रममा अप्रत्याशित घटना घटेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिमोट थिचेर डिजिटल रूपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेपछि लोगो अनावरणका लागि बेलुन उडाउन खोज्दा दुर्घटना भएको हो । हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोक्किँदा विस्फोट भई आगोको मुस्लो निस्किएको थियो । उक्त आगोको मुस्लोले बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई छोपेको थियो ।

दुर्घटनामा अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला, हात, कपाल लगायत शरीरका अन्य भागमा आगोले पोलेको छ । उनीहरूको उपचार अहिले काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।

उक्त घटनाको भिडिओ र फोटो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । विभिन्न फेसबुक पेजहरूले मिडियाका समाचारका शीर्षक राख्दै पोस्ट राख्न थालेका छन् । केही फेसबुक पेजले घटनास्थलबाटै फोटो सार्वजनिक गरेका छन् । तर, अधिकांश पोस्टमा नकारात्मक टिप्पणी र हाहा रियाक्टको वर्चश्व छ । दुर्घटना हुँदा सहानुभूति प्रकट गर्नुपर्नेमा सामाजिक सञ्जाल प्रयोगकर्ताले रमाइलो मानेको जस्तो देखिएको छ । नेताहरू प्रति सहानुभूति वा दुःख प्रकट गरेका टिप्पणी विरलै भेटिन्छन् ।

यो घटना प्रतिनिधिमूलक मात्र हो । सामाजिक सञ्जालमा राजनीतिज्ञहरूले नकारात्मक कमेन्टको सामना गरेको घटना नौलो होइन । हरेक दिनजसो कुनै न कुनै नेताको सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू नकारात्मक कमेन्ट गर्ने अभियानमा लागिरहेका हुन्छन् । टिकटक र फेसबुकमा हेर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली लक्षित कमेन्ट प्रायः सबै पोस्टमा गरिएको हुन्छ ।

रचनात्मक ढङ्गले कुनै नेताको समर्थन वा विरोध गरी कमेन्ट गर्ने प्रयोगकर्ताले पनि नकारात्मक कमेन्टको सामना गरिरहेका हुन्छन् । कलाकारदेखि सार्वजनिक अहोदाका व्यक्ति हुँदै केही हजार भ्युज पाएको सर्वसाधारणकै टिकटक वा फेसबुक भिडिओमै पनि नकारात्मक कमेन्टको बाढी लाग्छ । त्यसमा अधिकांश नकारात्मक कमेन्टको सामना राजनीतिज्ञले गरिरहेका हुन्छन् ।

आखिर राजनीतिमा लागेका अधिकांश व्यक्तिहरू प्रति किन नकारात्मक कमेन्ट गर्छन् नेपाली ? 

ओपन नेपाल इनिसियटिभ्सले हालै मात्र एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले नेपाली महिला राजनीतिज्ञमाथि लक्षित अनलाइन हिंसा र नकारात्मक कमेन्टको डरलाग्दो स्वरूप देखा परेको घटना उजागर गरेको थियो । उक्त प्रतिवेदनअनुसार राजनीतिज्ञहरू कुनै न कुनै आरोपमा मुछिएका हुन्छन् । त्यसैको आडमा आरोप पुष्टि नभए पनि त्यसको दोष दिन सामाजिक सञ्जाल प्रयोगकर्ता नकारात्मक कमेन्ट गर्नेदेखि अनलाइन हिंसाको प्रयास गर्नेसम्म गर्ने प्रतिवेदनमा उल्लेख छ । 

काठमाडौं विश्वविद्यालय, अङ्ग्रेजी विभागका प्राध्यापक डा. सिद्धार्थ ढुङ्गानाका अनुसार सामाजिक सञ्जालमा मान्छे विभिन्न कारणले नकारात्मक लेख्छन् । त्यसमध्ये एउटा हो, अर्बन साइकोलोजी (सहरी मनोविज्ञान) ।

“मान्छेले सहरी मनोविज्ञानलाई आत्मसात् गर्न नसक्दा चिन्तामुक्त गर्ने बहानामा सामाजिक सञ्जालको प्रयोग गर्छन्,” डा. ढुङ्गाना भन्छन्, “खासगरी आधुनिकीकरण विस्तार भइरहेको अवस्थामा आफू अगाडि बढ्न सकिरहेको हुँदैन । त्यसमा साइकोलोजीलाई रिल्याक्स चाहिन्छ । यसको रिल्याक्सिङ प्रोसेसमा मान्छे नकारात्मक टिप्पणी गर्छ । त्यसमा नकारात्मक टिप्पणी राजनीतिज्ञको आइरहेको हुन्छ । त्यसैको हिस्सा बन्न उनीहरू पनि नकारात्मक कमेन्ट गर्छन् ।”

डा. ढुङ्गानाका अनुसार साइकोलोजीको ‘रिल्याक्सिङ’ प्रक्रियामा सामाजिक सञ्जालका फिडहरू नयाँ-नयाँ जानकारी आइरहेको बेला मान्छेले आफूले के कमेन्ट गरेको थिएँ भन्ने नै सम्झिन सक्दैन । त्यस्तोमा क्षणिक रूपमा आवेशमा आएर मान्छे नकारात्मक प्रतिक्रिया जनाउने उनी बताउँछन् ।

त्यस्तै समथा साइकोलोजिकल केयर प्रालिकी अध्यक्ष एवं मनोवैज्ञानिक अनिता प्रजापति पनि डा. ढुङ्गानाको धारणामा समर्थन जनाउँछिन् । उनी भन्छिन्, “सामाजिक सञ्जालको लत लागेपछि अरू विषयमा ध्यान केन्द्रित हुन सकिँदैन । जसले गर्दा काममा असर पर्ने, जाँगर नलाग्ने, कामै नगर्ने, अध्ययन नगर्ने बानी बस्छ । यस्तो हुँदा व्यक्तिमा आर्थिक र मानसिक असर पर्छ । त्यही आवेग पोख्ने ठाउँ सामाजिक सञ्जाल बनिदिन्छ ।”

सामाजिक सञ्जालमा व्यक्ति वास्तविक पहिचानबाटै आउनुपर्छ भन्ने हुँदैन । जसले जुन नामबाट अकाउन्ट बनाए पनि हुन्छ । अर्काको नाम वा फोटो प्रयोग गरेको सन्दर्भमा भने साइबर अपराधतिर जोडिन्छ यो विषय । यसरी अज्ञात रहेर प्रयोग गर्ने सुविधा भएकाले व्यक्तिको वास्तविक पहिचान बाहिर आउँदैन । त्यसैमा ढुक्क भएर पनि केही व्यक्तिको स्वभाव नै सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिने हुने गरेको प्रजापतिको भनाइ छ ।

त्यसैगरी सामाजिक सञ्जालमा भर्खर भर्खर मात्र सक्रिय हुन थालेका व्यक्तिलाई नकारात्मक र सकारात्मक प्रतिक्रियाको बारेमा खासै वास्ता हुँदैन । त्यस्तै अश्लील वा नकारात्मक कमेन्ट गर्दा उनीहरूलाई आफ्ना आफन्त, साथीभाइ वा चिनेका व्यक्तिलाई थाहा हुँदैन भन्ने लाग्छ । र, कमेन्ट गर्छन् । जब कि फेसबुक लगायतका सामाजिक सञ्जालले सार्वजनिक पोस्टमा गरेका कमेन्ट कतिबेला कसको फिडमा पुर्‍याउँछ भन्न सकिँदैन ।

किन बढ्दैछ राजनीतिज्ञप्रति नकारात्मक कमेन्ट गर्ने प्रवृत्ति ?

१) गुमनाम हुने सुविधा र जवाफदेहिताको अभाव

सामाजिक सञ्जालका प्लेटफर्ममा गुमनाम बस्न सकिने सुविधा हुन्छ । गुमनाम हुँदा मानिस केही प्रतिक्रिया जनाउन कम सङ्कोच मान्छ । यसले गर्दा उनीहरूले प्रत्यक्ष कुरा गर्ने स्थितिमा भन्दा बढी नकारात्मकता प्रकट गर्न सक्छन् ।

यसलाई अनलाइन ‘डिसिन्हिबिसन इफेक्ट’ (Disinhibition Effect) भनिन्छ । जब प्रयोगकर्तामा गुमनामको अवस्था महसुस हुन्छ, तब उनीहरूलाई आफ्नो व्यवहारको प्रत्यक्ष परिणामको सामना गर्नुपर्दैन भन्ने भावना हुन्छ । जसले उनीहरूलाई चोट पुर्‍याउने वा आलोचनात्मक टिप्पणी गर्न प्रोत्साहित गर्न सक्छ ।

२) सामाजिक तुलना

मानिसले प्रायः सामाजिक सञ्जालमा आफूलाई अरूसँग तुलना गर्छन् । यसले असमर्थता, ईर्ष्या वा निराशाको भावना ल्याउन सक्छ । यस भावनात्मक प्रतिक्रियास्वरूप मान्छे नकारात्मक टिप्पणी गर्न प्रेरित हुन्छन् । यो सामाजिक तुलना सिद्धान्तसँग मेल खान्छ जहाँ अरूको सफलता वा खुसीलाई देखेर ईर्ष्या उत्पन्न हुन सक्छ । यसले केहीलाई आक्रोशित गर्न प्रेरित गर्न सक्छ ।

३) ध्यान खिच्ने

नकारात्मक टिप्पणी केही व्यक्तिहरूको लागि 'एटेन्सन सिक' अर्थात् अर्काको ध्यान आफूतिर आकर्षित गर्ने तरिका हुन सक्छ । त्यसका लागि प्रयोगकर्ता ‘ट्रोल’ वा विरोधाभास विचारको सहायता लिन्छन् । यस्ता सामग्री प्रकाशन गर्नु र अर्काको ध्यान आफूतिर खिच्न सामाजिक सञ्जाल सबैभन्दा उपयुक्त माध्यम भइरहेको छ ।

सकारात्मक विचार राख्नेभन्दा नकारात्मक र विरोधाभास विचार गर्ने व्यक्ति छिट्टै अरूको नजरमा पर्ने सम्भावना बढी हुन्छ । यसैले पनि मानिसहरू सामाजिक सञ्जालमा नकारात्मक हुन्छन् । प्रधानमन्त्री ओली लक्षित नकारात्मक र गालीले भरिएको कमेन्ट धेरैले गर्नुका पछाडिको कारण यही हो । उक्त कमेन्टमा आउने समर्थनले नै उक्त प्रयोगकर्ता उत्साहित हुन्छ र ‘भाइरल हुने’ मोहले नकारात्मक कमेन्ट गर्न थाल्छ ।

४. ग्रुप मेन्टालिटी

‘ब्यान्ड वागन इफेक्ट’ वा ग्रुप मेन्टालिटी (भीड मानसिकता)ले मानिसहरूलाई नकारात्मक टिप्पणी गर्न प्रेरित गर्न सक्छ । विशेषगरी एउटा कसैले नकारात्मक विचार राखेको छ भने त्यसलाई आफ्नो विचार समान मानी समर्थन गर्नेहरू हुन्छन् । उस्तै नकारात्मक विचार भएका व्यक्तिको बहुमत हुँदा त्यो ‘विषाक्त व्यवहार’ मा परिणत हुन्छ ।

५) भावना प्रकट गर्ने माध्यम

केहीका लागि सामाजिक सञ्जाल आफूहरूमा जम्मा भएको निराशा, रिस वा तनावलाई व्यक्त गर्ने माध्यम हो । जब मानिसहरू पहिले नै भावनात्मक रूपमा अशान्तिमा हुन्छन्, तब उनीहरू आक्रामक वा नकारात्मक टिप्पणीहरू पोस्ट गर्न बढी इच्छुक हुन सक्छन् । यसले भावनात्मक राहतको काम गरेको हुन्छ । यस्तोमा जहाँ नकारात्मक कमेन्ट आइरहेको छ त्यहीँ आफूलाई सामेल गराई धारणा दिने होड चल्छ । त्यसैले राजनीतिज्ञ र नेताहरूको पोस्ट वा उनीहरूसँग सम्बन्धित पोस्टमा नकारात्मक कमेन्ट आउनुको कारण यो पनि रहेको विश्लेषक बताउँछन् ।

६) सहानुभूतिको अभाव

डिजिटल सञ्चारले दूरी सिर्जना गरेको छ । यसले गर्दा मानिसहरू अरूलाई सहानुभूति दिनुपर्छ भन्ने मान्यताबाट टाढै हुन्छन् । यस्तोमा आफूले गरेको कमेन्ट वा पोस्टले अर्कालाई कस्तो भावनात्मक प्रभाव पर्छ भन्ने ख्याल गरिएको हुँदैन ।

७) नकारात्मक पूर्वाग्रह

नकारात्मकता पूर्वाग्रह भनेको नकारात्मक अनुभवहरूले सकारात्मक अनुभवभन्दा एक व्यक्तिको मानसिक स्थितिमा बढी प्रभाव पार्ने प्रवृत्ति हो । सामाजिक सञ्जालमा मानिसहरू प्रायः के मन पर्दैन, त्यसमा ध्यान केन्द्रित गर्छन् । र यसलाई व्यक्त गर्न प्रेरित महसुस गर्छन् । यसले नकारात्मक टिप्पणीहरूको अनुपातलाई अत्यधिक बनाउँछ ।

८) आत्म-सम्मानको कमी

केही व्यक्तिहरू जसको आत्म-सम्मान कम छ उनीहरूले आफ्नो असुरक्षालाई अरूमा सार्न नकारात्मक कमेन्ट गर्ने गर्छन् । अरूको आलोचना गर्दा उनीहरूको आफ्नै मूल्यको भावना अस्थायी रूपमा बढ्न सक्छ । र, यसले आफ्ना कमजोरीहरू वा सङ्घर्षहरूबाट उनीहरूको ध्यान हटाउँछ ।

९) अन्यायको भावना

केही नकारात्मक कमेन्ट अन्यायको भावना वा असमानताको कारण उत्पन्न हुन्छन् । विशेषगरी विवादास्पद विषयमा कुरा भइरहेको छ भने नकारात्मक कमेन्ट बढी आउने गर्छन् । सामाजिक सञ्जालका माध्यम मानिसहरूका लागि उनीहरूको असन्तोष वा रिस व्यक्त गर्न एक प्लेटफर्म बनेका छन् । समाज, कुनै कम्पनी, ब्रान्ड, कुनै व्यक्ति वा अन्य प्रयोगकर्ताबाट अन्याय महसुस गरेको बेला आवेगमा आएर उनीहरू नकारात्मक कमेन्ट गर्छन् ।

१०) होच्याउने स्वभाव

केही प्रयोगकर्ता अरूलाई आफ्नो अधीनमा पारेको आभास गराउन नकारात्मक कमेन्ट गर्ने गर्छन् । वा, आफू कमजोर भएको अवस्थामा बलियो देखाउन पनि केही मानिसहरू नकारात्मक कमेन्टको सहारा लिन्छन् । अरूको आलोचना गरेर वा तिनीहरूलाई तल पार्दा उनीहरू आफ्नो स्थान माथि भएको वा आफू उच्च स्थानमा भएको महसुस गर्छन् ।

११) फरक राजनीतिक दललाई समर्थन

आफूलाई चित्त नबुझेको राजनीतिक दललाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्ति हाबी भएको छ । आफूले समर्थन गरेको दल सम्पूर्ण रूपमा ठीक र विपक्षी दल सबै कुरामा गलत छ भन्ने धारणा राख्नुको उपज नकारात्मक टिप्पणीको वृद्धि हुनु पनि हो ।

पछिल्लो अध्यावधिक: फागुन ३, २०८१ २३:१८