काठमाडौँ । सामाजिक सञ्जाल इन्स्टाग्रामको मातृ कम्पनी मेटाले बाल यौन शोषणविरुद्ध कडा कदम चालेको छ । कम्पनीले बालबालिकालाई यौनजन्य रूपमा प्रस्तुत गर्ने तथा अनुपयुक्त टिप्पणी गर्ने एक लाख ३५ हजार र अर्काको नामबाट सञ्चालित पाँच लाख गरी छ लाख अकाउन्ट हटाएको हो ।
यसका साथै किशोरकिशोरी प्रयोगकर्तालाई अनलाइनमा सुरक्षित राख्न नयाँ ‘सेफ्टी टुल्स’ पनि सार्वजनिक गरेको छ । मेटाले ल्याएका नयाँ फिचरले किशोरकिशोरीलाई शंकास्पद र ठगी गर्ने खालका गतिविधि पहिचान गर्न मद्दत गर्ने बताइएको छ । यस्तै अब इनबक्समा कसैले मेसेज पठाउँदा उसको खाता कहिले बनेको हो जस्ता जानकारी देखिनेछ । यदि खाना नयाँ हो र उसले इन्स्टाग्राममा कम गतिविधि गरेको छ भने उक्त अकाउन्ट शंकास्पद अकाउन्टका रूपमा ‘फ्ल्याग’ हुनेछ । यसबाट प्रयोगकर्ता सतर्क भई उक्त अकाउन्टलाई रेस्पोन्स नगर्न सक्नेछन् ।
साथै अब कुनै पनि अनावश्यक अकाउन्टलाई प्रयोगकर्ताले एकै पटकमा ब्लक र रिपोर्ट गर्न सक्नेछन् । यसले गर्दा अनावश्यक सम्पर्कलाई तुरुन्तै रोक्न सकिनेछ ।
कम्पनीका अनुसार यस्तै सुरक्षा सतर्कता (सेफ्टी नोटिस) पाएपछि किशोरकिशोरीले जुन महिनामा मात्रै २० लाखभन्दा बढी पटक अकाउन्ट ब्लक वा रिपोर्ट गरेका थिए ।
नियामक निकाय र सांसदबाट युवा प्रयोगकर्ताको सुरक्षाका लागि पर्याप्त काम नगरेको भन्दै आलोचना बढेपछि मेटाले यस्तो कदम चालेको हो । कम्पनीले हालै हटाएका आपत्तिजनक अकाउन्टसँग जोडिएका थप पाँच लाख इन्स्टाग्राम र फेसबुक प्रोफाइल पनि हटाएको जनाएको छ ।
त्यस्तै मेटाले अब किशोरकिशोरी र बालबालिकाका अकाउन्टमा स्वतः सबैभन्दा कडा मेसेजिङ र कमेन्ट फिल्टर लागू गर्ने भएको छ । यसले अपरिचित व्यक्तिबाट आउने मेसेजलाई सीमित गर्नेछ र आपत्तिजनक मेसेजलाई फिल्टर गर्नेछ ।
इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकिएको छ । यद्यपि अभिभावकले साना बालबालिकाको खाता व्यवस्थापन गर्न पाउँछन् । तर, यसका बाबजुद पनि अमेरिकाका विभिन्न राज्यले मेटाविरुद्ध यसका प्लेटफर्मले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको र लत लगाउने खालका विशेषता राखेको भन्दै मुद्दा दायर गरेका छन् ।
यसैबीच मेटाले हालै करिब एक करोड नक्कली अकाउन्ट हटाएको दाबी गरेको छ । त्यसमध्ये धेरैले ठुला कन्टेन्ट क्रिएटरको नक्कल गरेर स्प्याम वा ठगी फैलाउने प्रयास गरिरहेका थिए । कम्पनीले अब ‘प्रतिक्रियात्मक मध्यस्थता’ (रियाक्टिभ मोडरेसन) मात्र नभई ‘सक्रिय सुरक्षा’ (प्रोटेक्टिभ प्रोटेक्सन) मा ध्यान केन्द्रित गरिरहेको बताएको छ ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १३:२४
