पाकिस्तानमा फेरि एक टिकटक प्रयोगकर्ताको रहस्यमय मृत्यु, दुई महिनामा तेस्रो युवतीको ज्यान गयो
साउन १०, २०८२ २२:४५
काठमाडौँ । पाकिस्तानमा पछिल्लो दुई महिनामा तेस्रो महिला टिकटक इन्फ्लुएन्सरको मृत्यु भएको छ । सिन्ध प्रान्तकी चर्चित कन्टेन्ट क्रिएटर समीरा राजपुत हालै आफ्नो घरमा मृत फेला परेकी हुन् । टिकटकमा उनका ५८ हजार बढी फलोअर रहेका थिए ।
पाकिस्तानको जियो न्युजका अनुसार, राजपुतकी १५ वर्षीया छोरीले आफ्नी आमालाई विवाहका लागि लामो समयदेखि दबाब दिइरहेका व्यक्तिहरूले विष खुवाएर हत्या गरेको आरोप लगाएकी छिन् । यस घटनामा बाबु राजपुत र मोहम्मद इमरान नामका दुई जनालाई हिरासतमा लिइएको छ । तर हालसम्म कुनै एफआईआर दर्ता गरिएको छैन ।
घोट्की प्रहरीले जियो न्युजलाई दिएको जानकारी अनुसार, राजपुतको पोस्टमार्टम रिपोर्टले उनको मृत्यु विषका कारण भएको पुष्टि गरेको छ । यद्यपि, प्रहरीले थप फरेन्सिक परीक्षण जारी रहेको र घटनामा आपराधिक संलग्नता भए/नभएकोबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाप्रति प्रहरीले देखाएको ढिलासुस्ती र संवेदनशीलताको अभावले पाकिस्तानमा महिलाहरूको सुरक्षालाई लिएर फेरि एकपटक आलोचना सुरु भएको छ ।
राजपुतको मृत्यु महिला इन्फ्लुएन्सरहरूलाई निशाना बनाइएको हिंसात्मक घटनाहरूको शृङ्खलाको पछिल्लो कडी हो । गत महिना मात्रै, इस्लामावादमा १७ वर्षीया टिकटक स्टार सना युसुफको उनलाई दुर्व्यवहार गरिरहेका एक व्यक्तिले गोली हानी हत्या गरेका थिए । त्यसैगरी, जनवरीमा क्वेटामा १५ वर्षीया हिराको टिकटक अकाउन्ट हटाउन नमान्दा उनका बुबा र काकाले हत्या गरेको आरोप लागेको थियो ।
यसै वर्षको सुरुमा दक्षिण-पश्चिमी बलुचिस्तानमा एक व्यक्तिले आफ्नी १४ वर्षीया छोरीको टिकटक भिडिओले 'इज्जत'मा धक्का पुर्याएको भन्दै हत्या गरेको स्वीकार गरेका थिए ।
यी घटनाले सन् २०१६ मा सामाजिक सञ्जालकी चर्चित व्यक्तित्व कन्दिल बलोचको उनकै भाइद्वारा गरिएको ‘अनर किलिङ’ (इज्जतका लागि हत्या) को त्रासदीपूर्ण घटनाको सम्झना गराएको छ ।
अरब न्युजको रिपोर्ट अनुसार, यस्ता घटनापछि पाकिस्तान सरकारले टिकटकमाथि अनैतिक व्यवहारको आरोप लगाउँदै प्रतिबन्ध लगाउने वा सेवा रोक्ने चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा सक्रिय महिला प्रयोगकर्तामाथि भइरहेको हिंसा र हत्याका घटनाले पाकिस्तानमा महिला अधिकारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन् । समीराको घटनालाई लिएर न्याय सुनिश्चित गर्न आवाज उठ्न थालेको छ ।
पछिल्लो अध्यावधिक: साउन १०, २०८२ २३:३
