लुम्बिनी प्राविधिक विश्वविद्यालयमा आईटी इन्जिनियरिङदेखि एआई सम्मका कार्यक्रममा भर्ना खुल्यो
साउन १३, २०८२ १३:३७
काठमाडौँ । लुम्बिनी प्राविधिक विश्वविद्यालयले बीटेक अन्तर्गत विभिन्न कार्यक्रमका लागि प्रवेश परीक्षा फाराम खुलाएको छ । हालै एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानले नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा भर्ना प्रक्रियाबारे जानकारी दिएको हो ।
बीटेक अन्तर्गत सिभिल इन्जिनियरिङ, आईटी इन्जिनियरिङ, कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स र इन्फर्मेसन टेक्नोलोजी कार्यक्रममा भर्ना लिइने छ । यी सबै कार्यक्रममा ४८/४८ सिट सङ्ख्या तोकिएको छ । ११ साउनदेखि ४ भदौसम्ममा विद्यार्थीहरूले अनलाइन आवेदन दिन सक्नेछन् । यहाँ क्लिक गरेर आवेदन दिन सकिने छ ।
विश्वविद्यालयका अनुसार सिभिल र आईटी इन्जिनियरिङ कार्यक्रमका लागि विद्यार्थीहरूले कक्षा १२ वा इन्जिनियरिङमा डिप्लोमा तह उत्तीर्ण गरेको हुनु पर्नेछ । साथै, भौतिक विज्ञान, रासायनिक विज्ञान र गणितमा न्यूनतम ४५ प्रतिशत वा ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । ए-लेभल अध्ययन गरेका विद्यार्थीले प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड वा ४५ प्रतिशत अङ्क प्राप्त गरेको हुनु पर्नेछ ।
यस्तै कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) वा सो सरहको बोर्डबाट भौतिक विज्ञान, रासायनिक विज्ञान र गणित विषयसहित कक्षा १२ पास गरेको हुनुपर्छ भने कम्तीमा ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ । इन्फर्मेसन टेक्नोलोजी कार्यक्रमका लागि भने एनईबी वा सो सरहबाट कक्षा १२ उत्तीर्ण गरेको र कम्तीमा ‘डी’ ग्रेड हासिल गरेको हुनुपर्नेछ ।
आवेदन फाराम भर्दा इन्जिनियरिङका लागि दुई हजार रुपैयाँ र अन्य कार्यक्रमका लागि एक हजार ५०० रुपैयाँ तोकिएको छ । तोकिएको समयमा आवेदन दिन छुटेमा ६ भदौदेखि ९ भदौसम्म तीन हजार रुपैयाँ तिरेर इन्जिनियरिङमा र अन्य कार्यक्रममा दुई हजार ५०० रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन् ।
कक्षा १२ को नतिजा नआएका, तर कक्षा ११ पास गरेका विद्यार्थीहरूले पनि आवेदन दिनसक्ने विश्वविद्यालयले जनाएको छ । तर, भर्नाको बेला ग्रेड १२ को मार्कशिट पेस गर्नुपर्ने छ । प्रवेश परीक्षाको मिति पछि सार्वजनिक गर्ने विश्वविद्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १३:३७
