काठमाडौँ । एनसेलको उच्च व्यवस्थापनमा कार्यरत अधिकारीले एकपछि अर्को राजीनामा दिन थालेका छन् । प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकबाट जाब्बोर कायुमोभ बाहिरिएपछि कम्पनीका प्रमुख व्यावसायिक अधिकृत उमाइर मोहसिनले पनि राजीनामा दिएका हुन् ।
पाकिस्तानी नागरिक मोहसिन अगस्ट, २०२३ देखि एनसेलमा चिफ कमर्सियल अफिसर (सीओओ) को रूपमा कार्यरत थिए । कम्पनी स्रोतका अनुसार मोहसिनले केही समयअघि नै राजीनामा बुझाएका थिए । एनसेल स्रोतले नयाँ चिफ कमर्सियल अफिसरको नियुक्त अन्तिम चरणमा रहेको र छिट्टै औपचारिक रूपमा आबद्ध हुने बताएको छ । उनी पनि विदेशी नागरिक नै हुन् ।
जाब्बोरले राजीनामा दिएपछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ । यस बाहेक एनसेलको उच्च व्यवस्थापनमा अन्य अधिकारहरू समेत विदेशी छन् । प्रविधि तथा सूचना अधिकृत प्रमुख अमिर अली, चिफ डिजिटल च्यानल्स र एक्सपिरियन्स अफिसर स्टेफेन रोड्रिगेज, चिफ इन्टरप्राइज बिजनेस अफिसर डायोन साल्भाडोर एनटोनियो, चिफ ह्युमन रिसोर्सेस अफिसरमा अफ्रिन हुडा कार्यरत छन् ।
बाँकी भने नेपाली नागरिक छन् । जसमा हेड अफ कर्पोरेट एण्ड रेगुलेटरी अफेयर्स निर्देशकमा डिल्लीराम श्रेष्ठ, हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सस्टेनेबिलिटी निर्देशकमा विशाखालक्ष्मी खड्का र हेड अफ स्ट्राटेजी एन्ड बिजनेस इन्टेलिजेन्स निर्देशकमा प्रितम श्रेष्ठ कार्यरत छन् । एनसेलको उच्च व्यवस्थापनमा तीन जना नेपाली छन् भने बाँकी सबै विदेशी नागरिक कार्यरत छन् ।
पछिल्लो अध्यावधिक: साउन २३, २०८२ १४:३९
