close

नाइमा एक्स्पोमा ईभी प्रतिस्पर्धा: ६ ब्रान्डका नयाँ मोडेल सार्वजनिक, मूल्य २९ देखि ६९ लाखसम्म

टेकपाना टेकपाना

साउन २४, २०८२ ११:१५

नाइमा एक्स्पोमा ईभी प्रतिस्पर्धा: ६ ब्रान्डका नयाँ मोडेल सार्वजनिक, मूल्य २९ देखि ६९ लाखसम्म

काठमाडौँ । भृकुटीमण्डपमा बुधबारदेखि जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ विद्युतीय गाडीका नयाँ मोडेलहरू सार्वजनिक गर्ने प्रतिस्पर्धाको केन्द्र बनेको छ । आइतबारसम्म चल्ने प्रदर्शनीलाई लक्षित गर्दै विभिन्न अटोमोबाइल कम्पनीहरूले २९ लाखदेखि ७५ लाख रुपैयाँसम्मका नयाँ गाडीहरू आकर्षक छुट र अफरसहित बजारमा उतारेका छन् ।

यसले गर्दा नयाँ मोडलका गाडी अनुभव गर्न आउनेको घुइँचो लागेको छ । एक्स्पोमा सार्वजनिक भएका नयाँ ईभी र तिनका विशेषताबारे यहाँ चर्चा गरिएको छ: 

बीवाईडीको ‘सिगल एट्टो-१’ 

नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ह्याचब्याक मोडेल ‘सिगल’ सार्वजनिक गरेको छ, जसलाई ‘एट्टो-१’ नाम दिइएको छ । यसको ‘डाइनामिक’ भेरियन्टको मूल्य २८ लाख ९५ हजार र ‘प्रिमियम’ भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

डाइनामिक भेरियन्टले एक पटकको फुल चार्जमा २३० किलोमिटर र प्रिमियम भेरियन्टले ३०० किलोमिटर (डब्लूएलटीपी मापदण्ड अनुसार) गुड्ने क्षमता राख्छ । 

दुवै गाडीमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । १३ फिट लामो यो गाडी सहरी क्षेत्रको ड्राइभिङका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । ​डाइनामिकमा ३० किलोवाट आवर र ३८.८ किलोवाट आवरको ब्याट्री छ ।

साइमेक्सले नाइमा एक्स्पो अवधिभरका लागि ७.२ किलोवाटको होम चार्जर र रेन्ज एन्जाइटी न्यूनीकरण गर्न २.३ किलोवाटको ट्राभल चार्जरसमेत उपलब्ध गराइरहेको छ । ​​

यो गाडीले डीसी चार्जर पनि सपोर्ट गर्छ । डीसी चार्जिङ ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न आधा घण्टा लाग्ने कम्पनीले जनाएको छ । ७.२ किलोवाटको एसी चार्जरबाट चार्ज गर्न ५ घण्टा लाग्छ । २.३ किलोवाट इमर्जेन्सी चार्जर भएकाले गाडी चार्ज गर्न १० देखि १२ घण्टा लाग्न सक्नेछ । 

त्यस्तै डीसी फास्ट चार्जरबाट ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन केवल आधा घण्टा लाग्छ । कम्पनीले एक्स्पो अवधिभर ७.२ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराएको छ । ​​

टायर १६ इन्च रहेको गाडीमा बुट स्पेस २३० लिटर छ । गाडीको आकारअनुसार रेयर भ्यू क्यामेराले पुग्ने भएकाले ३६० डिग्री क्यामेरा छैन । प्रिमियममा ६ ओटा एयर ब्याग छन् भने डाइनामिकमा ४ ओटा छन् ।

त्यसैगरी, साइमेक्स इंकले गत वर्षकै नाडा अटो शोमा सार्वजनिक गरेको सिलायन ७ पनि नाइमा एक्स्पोमा राखेको छ । गत महिनाबाट साइमेक्सले यो गाडी नेपाली उपभोक्ताका लागि बिक्रीमा राखेको थियो । 

यो गाडीले एकपटकको फुल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ । १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीको ब्याट्री क्षमता ७१.८ किलोवाट आवर छ । यो गाडीको एमआरपी ७५ लाख रुपैयाँ तोकिएको छ । यो गाडी पनि नेपाली उपभोक्ताहरूका लागि नयाँ मोडलकै रुपमा प्रस्तुत गरिएको छ ।

लिपमोटरको एसयूभी ‘बी-१०’

लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले ‘बी-१०’ एसयूभी प्रदर्शनीमा राखेको छ । यसको बेस मोडेलको मूल्य ५० लाख र टप मोडेलको ५७ लाख रुपैयाँ रहेको छ ।

६७.१ किलोवाट-आवर क्षमताको ब्याट्री जडान भएको यो गाडीले एक पटकको फुल चार्जमा ४६० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ, जुन कच्ची सडकका लागि पनि उपयुक्त मानिन्छ ।​​

जेइकोको ‘जे-फाइभ’ विशेष छुटमा

नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जेइको जे-फाइभको एमआरपी ६१ लाख रुपैयाँ तोकेको छ । तर, नाइमा एक्स्पोमा कम्पनीले यो गाडी अफरसहित ५७ लाख रुपैयाँमा उपलब्ध गराएको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १८५ एमएम छ । 

मोटर क्षमता १५५ किलोवाट रहँदा गाडीले फुल चार्जमा ४६१ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ । ब्याट्री प्याक ५८.९ किलोवाट आवर छ । यो ब्याट्रीलाई डीसी फास्ट चार्जिङबाट २० देखि ८० प्रतिशत ३५ मिनेटमा चार्ज हुन्छ । घरमा जोडिने ७ किलोवाट चार्जरबाट ८ देखि ९ घण्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

नयाँ ब्रान्ड ‘फोर्थिङ’ नेपालमा प्रवेश

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले ‘फोर्थिङ’ नामक नयाँ विद्युतीय ब्रान्ड नेपालमा भित्र्याएको छ । यसले ‘फोर्थिङ फ्राइडे’ नामक पहिलो मोडेल सार्वजनिक गरेको हो । यसको लक्जरी भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र 'एक्स्क्लुसिभ' भेरियन्टको ५४ लाख ९६ हजार रुपैयाँ छ ।

९९ किलोवाटको मोटर रहेको गाडीमा ६४.४ किलोवाट-आवरको ब्याट्री छ, जसले एक पटकको चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ४८० लिटरको ठुलो बुट स्पेस (सामान राख्ने ठाउँ) र १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ ।

एमजीको प्रिमियम एसयूभी ‘आईएम६’

एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले प्रिमियम एसयूभी 'आईएम६' सार्वजनिक गरेको छ । यसको मूल्य ७५ लाख रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार एक पटकको फुल चार्जमा ४५० किलोमिटर गुड्ने क्षमता छ । ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर रहेको छ । मोटर पावर १०९ किलोवाट रहेको यो गाडीको ब्याट्री डीसी फास्ट चार्जरबाट २० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । 

महिन्द्राका दुई मोडेल

भारतीय ब्राण्ड महिन्द्राले पनि नाइमा एक्स्पोको अवसरमा नयाँ विद्युतीय गाडी नेपाली बजारमा भित्र्याएको छ । महिन्द्राले एक्सइभी नाइनई र बीई६ लन्च गरेको छ । बीई६ को सुरुवाती मूल्य ५७ लाख र एक्सइभी नाइनईको सुरुवाती मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ ।

एक्सइभी नाइनई दुई ओटा मोटर पावरमा आउँछ । ९९ किलोवाट आवर र १९९ किलोवाट आवरमा यो मोडल उपलब्ध छ । ब्याट्री क्षमता ५९ किलोवाट आवर र अर्को ७९ किलोवाट आवर छ । १७५ किलोवाट आवर क्षमताको चार्जिङ स्टेसनमा गाडी २० देखि ८० प्रतिशत गाडी चार्ज गर्न २० मिनेट मात्रै लाग्छ । तर, ३० किलोवाट चार्जरबाट चार्ज गर्दा साढे २ घण्टासम्म लाग्नेछ । ६० किलोवाटबाट गर्दा साढे १ घण्टा लाग्छ । 

कम्पनीले ७.२ किलोवाट आवरको चार्जर छिट्टै ल्याउने जनाएको छ । नेपालमा एक्सइभी नाइनईको ५९ किलोवाटले ३५० किलोमिटर र  ७९ किलोवाटले ४५० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स २०७ एमएम छ । 

यस्तै, बीई६ को ग्राउन्ड क्लियरेन्स पनि एक्सइभी नाइनई जत्तिकै छ । यो गाडी दुवै क्षमतामा बने पनि महिन्द्राले हाल नेपालमा ५९ किलोवाट आवर क्षमता ब्याट्री भएको मोडेललाई मात्रै उतारेको छ । यसले फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले उल्लेख गरेकाे छ । गाडीसँगै ३.२ किलोवाटको चार्जर आउँछ । बुट स्पेस एक्सइभी नाइनईमा ६३३ लिटर रहँदा बीई६ मा ५०० लिटर हारहारीको छ । दुवै गाडीमा १९ इन्चको टायर जडान गरिएको छ । 

पछिल्लो अध्यावधिक: साउन २४, २०८२ ११:५६