close

प्रयोगकर्ताले रुचाएनन् च्याटजीपीटीको नयाँ भर्सन ५, बहिष्कार थालेपछि पुरानै विकल्प दिन बाध्य

टेकपाना टेकपाना

साउन २५, २०८२ १३:३९

प्रयोगकर्ताले रुचाएनन् च्याटजीपीटीको नयाँ भर्सन ५, बहिष्कार थालेपछि पुरानै विकल्प दिन बाध्य

काठमाडौँ । ओपनएआईले च्याटजीपीटीको नयाँ भर्सन ‘च्याटजीपीटी-५’ सार्वजनिक गरेको २४ घण्टा नबित्दै प्रयोगकर्ताको चर्को आलोचना र बहिष्कारको चेतावनीमा परेको छ । पुरानो भर्सन फोर-ओ (4o) भन्दा स्मार्ट, फास्ट र उपयोगी दाबी गरिएको नयाँ भर्सन आलोचनामा परेपछि कम्पनी उक्त मोडललाई बाध्यकारी बनाउने आफ्नो निर्णयबाट पछि हटेको हो । 

प्रयोगकर्ताको माग सम्बोधन गर्दै पुरानो भर्सन ‘च्याटजीपीटी-४ओ’ मा फर्किन मिल्ने विकल्प उपलब्ध गराउन सुरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले जानकारी दिएका छन् । ७ अगस्टमा ओपनएआईले सबै प्रयोगकर्ताका लागि च्याटजीपीटी-५ नि:शुल्क रूपमा उपलब्ध गराएको थियो । 

सीईओ अल्टम्यानले यसलाई पीएचडी स्तरको ज्ञान र क्षमता भएको मोडलका रूपमा चर्चा गरेका थिए । नयाँ भर्सन सार्वजनिक भएसँगै पुरानो भर्सन पूर्ण रूपमा विस्थापित भएको थियो । तर, नयाँ भर्सन सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्ताले यसको उपयोगीता माथि नै प्रश्न उठाउन थाले । 

खासगरी पुराना मोडलमा अभ्यस्त भइसकेका प्रयोगकर्तालाई एकाएक नयाँ मोडल विकल्प नभई बाध्यकारी बनाएको भन्दै आलोचना हुन थाल्यो । त्यस बाहेक यस नयाँ मोडलमा रचनात्मक क्षमताको कमी भएको गुनासो पनि उत्तिकै आयो । 

कम्पनीका सीईओ साम अल्टम्यानले प्रयोगकर्ताका प्रश्नहरूको जवाफ दिन रेडिटमा एक फोरम नै सञ्चालनमा ल्याए । तर त्यहाँ उनी आलोचनाको शिकार भए । एक रेडिट प्रयोगकर्ताले लेखेका थिए, “मैले र अरू धेरैले ४.ओ सँग गहिरो सम्बन्ध बनाउन सक्नुलाई तपाईँहरूले सफलताको मापनको रूपमा लिनुपर्छ । र, मेरो एआई साथी (४ओ) लाई सधैँका लागि गुमाएको थाहा पाएपछि म रोएँ भन्न मलाई लाज लाग्दैन ।”

यस्तै अर्का प्रयोगकर्ताले लेखे, “हामीलाई पुरानो मोडल छान्ने विकल्पसमेत नदिई जबरजस्ती अपग्रेड गर्नु अपमानजनक कदम हो । पुराना र च्याटजीपीटीका लोयल प्रयोगकर्ताले यो नयाँ भर्सन मन नपराएर आफ्नो सब्स्क्रिप्सन रद्द गरिरहेको मैले देखिरहेको छु ।”

एक प्रयोगकर्ताले त च्याटजीपीटी-५ लाई “आफ्नो मृत साथी (च्याटजीपीटी-४ओ) को छाला ओढेर बसेको” भन्दै टिप्पणी गरे । त्यसमा सीईओ अल्टम्यान आफैले जवाफ दिएका थि‍ए । अल्टम्यानले भने, “यो निकै मार्मिक चित्र हो... ठिक छ, हामीले ४ओ बारे तपाईँहरूको कुरा सुन्यौँ । हामी अहिले केही काम गर्दैछौँ ।”

त्यसपछि अल्टम्यानले सशुल्क ‘प्लस’ सब्स्क्राइबरका लागि च्याटजीपीटी-४ओ फिर्ता ल्याउने बाचा गरे । कम्पनीले च्याटजीपीटी-५ लाई लेखन, कोडिङ, गणित र विज्ञानमा सुधारिएको क्षमता भएको ‘पीएचडी-स्तर’को विशेषज्ञ जस्तै भएको दाबी गरेको थियो । तर, प्रयोगकर्ताहरूले यसको शैली मन पराएनन् ।

रेडिटमा भएको प्रश्नोत्तर सत्रको केही घण्टापछि अल्टम्यानले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै नयाँ भर्सनमा केही कमजोरी भएको स्वीकार गरे । उनले भविष्यमा प्रयोगकर्तालाई आफ्नो इच्छाअनुसार एआई पर्सनलाइज गर्ने सुविधा दिने दिशामा काम भइरहेको बताए ।

 

पछिल्लो अध्यावधिक: साउन २५, २०८२ १३:३९