close

गिगाबाइटको आरटीएक्स ५०५० ग्राफिक्स कार्ड नेपाली बजारमा, मूल्य ४५ हजार रुपैयाँदेखि सुरु

टेकपाना टेकपाना

साउन २८, २०८२ १३:३३

गिगाबाइटको आरटीएक्स ५०५० ग्राफिक्स कार्ड नेपाली बजारमा, मूल्य ४५ हजार रुपैयाँदेखि सुरु

काठमाडौँ । ग्राफिक्स कार्ड निर्माता गिगाबाइटले आफ्नो पछिल्लो उत्पादन एनभिडिया आरटीएक्स (NVIDIA GeForce RTX) ५०५० सिरिज नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यी नयाँ ग्राफिक्स कार्डहरू आफ्नो आधिकारिक वितरक हुकुट स्टोरमार्फत बिक्री वितरण थालेको हो ।

गेमर र कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने उद्देश्यले यो सिरिज ल्याइएको कम्पनीको भनाइ छ ।

आरटीएक्स ५०५० एनभिडियाको ५०-सिरिज अन्तर्गतको ग्राफिक्स कार्ड हो । एडा लभलेस आर्किटेक्चरमा आधारित ग्राफिक्स कार्डमा नेक्स्ट-जेनेरेसन रे ट्रेसिङ प्रविधि रहेको छ भने फ्रेम रेट बढाएर गेमिङ अनुभव सहज बनाउन  डीएलएसएस ३.५ एआई प्रविधि राखिएको छ ।

गिगाबाइटले नेपालमा सुरुवाती चरणमा दुई फरक भेरियन्टहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ‘गिगाबाइट आरटीएक्स ५०५० ओसी लो प्रोफाइल ८ जी’ (GIGABYTE GeForce RTX™️ 5050 OC Low Profile 8G) को मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो कार्ड विशेषगरी सानो आकारका कम्प्युटरका लागि डिजाइन गरिएको हो । यसमा भएको दुई ओटा पंखाले साँघुरो स्थानमा पनि तापक्रमलाई सन्तुलनमा राख्न मद्दत गर्ने र ८ जीबी (GDDR6) मेमोरीले गेमिङ र अन्य सिर्जनात्मक कार्यहरूलाई तीव्र गतिमा सम्पन्न गर्न सघाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, दोस्रो भेरियन्ट ‘गिगाबाइट आरटीएक्स ५०५० गेमिङ ओसी ८ जी’ (GIGABYTE GeForce RTX™️ 5050 GAMING OC 8G) को मूल्य ४६ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा तीन ओटा पंखासहितको विन्डफोर्स कुलिङ सिस्टम जडान गरिएको छ । प्रयोगकर्ताले आफ्नो रुचिअनुसार रङ मिलाउन सक्ने आरजीबी फ्युजन लाइटिङ र अतिरिक्त प्रदर्शनका लागि फ्याक्ट्री ओभरक्लक सुविधा यसका मुख्य आकर्षण हुन् । यसमा पनि ८ जीबी मेमोरी र टिकाउपनका लागि मेटल ब्याकप्लेट प्रयोग गरिएको छ ।

कम्पनीका अनुसार आरटीएक्स ५०५० सिरिजको मुख्य शक्ति भनेको एनभिडिया एडा लभलेस आर्किटेक्चर हो । जसले कम पावर खपतमा उच्च प्रदर्शन दिन्छ । ८ जीबी (GDDR6) भिडिओ र्‍यामले १०८०पी र १४४०पी रेजोलुसनमा सहज गेमिङको सुनिश्चितता गर्छ । साथै, पीसीआईई ४.० सपोर्टले छिटो डेटा ट्रान्सफर सम्भव बनाउँछ । जसले यसलाई उच्च प्रदर्शन चाहने तर सीमित बजेट भएका प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बनाएको छ ।

इच्छुक ग्राहकले यी नयाँ ग्राफिक्स कार्डहरू काठमाडौंको न्युरोडमा अवस्थित हुकुट स्टोरको शोरुमबाट वा कम्पनीको वेबसाइटमार्फत अनलाइन खरिद गर्न सक्नेछन् । अनलाइन खरिदमा २४ घण्टाभित्र देशव्यापी रूपमा निःशुल्क डेलिभरीको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन २८, २०८२ १३:५४