विद्यार्थीलाई रोजगारी दिलाउन उद्योगसँग सम्झौता गर्दै हेटौँडामा 'टेकनोभा फेस्ट' सम्पन्न
साउन २९, २०८२ १०:०
काठमाडौँ । हेटौँडास्थित सहिद आकाश मेमोरियल क्याम्पसले विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारी र इन्टर्नशिपको अवसर प्रदान गर्ने उद्देश्यले ‘टेकनोभा फेस्ट २०२५’ आयोजना गरेको छ । बुधबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न औद्योगिक प्रतिष्ठानसँग विद्यार्थीलाई रोजगारीमा पहुँच दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
कार्यक्रममा सूरी टेक्नोलोजी, आरएमसी केमिकल इन्डस्ट्री, सफ्टी हाइजेनिक प्रोडक्ट लगायत ६ उद्योगसँग विद्यार्थीको इन्टर्नशिप र रोजगारीका लागि सम्झौता भएको क्याम्पसले जानकारी दिएको छ । क्याम्पसले आगामी दिनमा यस्तो सहकार्यलाई थप विस्तार गर्दै लैजाने जनाएको छ ।
फेस्टमा एआई विज्ञ ई. सर्वज्ञ न्यौपानेले ‘एआई इन इन्डस्ट्री’ र साइबर सुरक्षा विज्ञ ई. विजय गौतमले ‘इमर्जिङ ट्रेन्ड्स इन आईटी’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका ‘च्याट बट’, ‘फिसिङ अट्याक डेमो’, ‘क्यारियर पाथ नेभिगेटर’ जस्ता प्रविधिमा आधारित परियोजनाहरू प्रस्तुत गरिएका थिए ।
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका करिब १०० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी र क्याम्पस प्रमुख दिनेश सुवेदीले विद्यार्थीको करियर निर्माणमा केन्द्रित भएर मन्तव्य राखेका थिए ।
क्याम्पसको विद्यार्थी क्लब ‘एसएएमसी टेक क्लब’ को आयोजनामा भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष महेश मोक्तानले गरेका थिए ।
पछिल्लो अध्यावधिक: साउन २९, २०८२ १७:४
