५ वर्ष टिक्ने ब्याट्री र मिलिटरी-ग्रेड क्षमता भएको ओप्पोको सस्तो स्मार्टफोन नेपाली बजारमा
साउन ३०, २०८२ १६:२६
काठमाडौं । ओप्पोले नेपाली बजारमा ‘ए’ सिरिजको नयाँ स्मार्टफोन ओप्पो ए५एक्स सार्वजनिक गरेको छ । टिकाउपन र विश्वसनीयतालाई ध्यानमा राखेर निर्माण गरिएको यो स्मार्टफोनलाई पानी र धुलोबाट जोगाउन आईपी६५ (IP65) रेटिङ दिइएको छ ।
यसमा मिलिटरी ग्रेडको झट्का प्रतिरोधी प्रणाली (शक प्रोटेक्सन) पनि रहेको छ । ६,००० एमएएच क्षमताको ब्याट्री रहेको फोनको आयु कम्तीमा पाँच वर्षसम्म रहने कम्पनीको भनाइ छ ।
फोनको बडी विशेष रूपमा सिल गरिएको छ । जसले धुलो, फोहोर र पानीका छिटाबाट फोनलाई सुरक्षित राख्ने क्षमता प्रदान गर्छ । यसले प्रयोगकर्तालाई कठोर वातावरण, बाहिरी प्रयोग वा अप्रत्याशित मौसममा पनि फोन सजिलै चलाउन सक्ने बनाएको छ ।
यसले एसजीएस गोल्ड लेबल ड्युराबिलिटी रेटिङ प्राप्त गर्नुका साथै डबल-टेम्पर्ड ग्लास प्रयोग गरिएको छ । जुन सामान्य सिसाभन्दा १६० प्रतिशतसम्म बलियो भएको कम्पनीको दाबी छ । साथै, यूएसबी-सी पोर्ट समेत वाटरप्रुफ बनाइएको छ ।
फोनको ब्याट्री एकपटक पूर्ण चार्ज भएपछि १६.३ घण्टा भिडिओ हेर्न, २६.६ घण्टा कल गर्न र ४५० घण्टा स्ट्यान्डबाइ रहन सक्छ । यसलाई १,७०० पटकसम्म चार्ज गरेपछि पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा कम नहुने दाबी गरिएको छ । फोनमा ४५ वाटको सुपरभोक फ्ल्यास चार्ज सुविधा छ । जसले २१ मिनेटमै ३० प्रतिशत चार्ज गर्न सक्ने र ८४ मिनेटमा पूर्ण चार्ज गर्न सक्ने क्षमता राख्दछ ।
फोनमा कलरओएस १५ प्रणालीमा आधारित गुगल जेमिनाई एआई असिस्टेन्ट जस्ता सुविधा समावेश छन्, जसले दैनिक कार्यहरूलाई थप सहज बनाउने उद्देश्य राखेको छ ।
फोटोग्राफीको लागि यसमा ३२ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । फोन स्न्यापड्रागन ६एस जेन १ प्रोसेसरद्वारा सञ्चालित छ र ४ जीबी + ६४ जीबी, ४ जीबी + १२८ जीबी र ६ जीबी + १२८ जीबी गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ ।
ओप्पो ए५एक्स नेपालभरका सबै रिटेल स्टोरहरूमा आजदेखि मिडनाइट ब्लू र लेजर व्हाइट दुई रङमा उपलब्ध हुनेछ । कम्पनीले ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको मोडेलको मूल्य रु १४,९९९, र ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडेलको मूल्य रु १७,९९९ तोकेको छ ।
पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १४:५१
