close

नेपाली ह्याकरहरूको सम्मेलन सम्पन्न, ‘पेनटेस्टर नेपाल’ अब संस्थागत संरचनामा जाने

टेकपाना टेकपाना

साउन ३१, २०८२ २२:५०

नेपाली ह्याकरहरूको सम्मेलन सम्पन्न, ‘पेनटेस्टर नेपाल’ अब संस्थागत संरचनामा जाने

काठमाडौँ । नेपाली इथिकल ह्याकर, साइबर सुरक्षा विज्ञ तथा यसप्रति रुचि भएकाहरूको समुदाय ‘पेनटेस्टर नेपाल’ले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ललितपुरस्थित युलेन्स कलेजमा आयोजित उक्त कार्यक्रमले साइबर सुरक्षा समुदायका सदस्यलाई एकै ठाउँमा भेला गराउने, सिक्ने-सिकाउने र सहकार्यका अवसर प्रदान गर्ने उद्देश्य राखेको थियो ।

कार्यक्रममा बोल्दै पेनटेस्टर नेपालका लिडर निर्मल दाहालले १२ वर्षदेखि खुला समुदायको रूपमा चल्दै आएको ‘पेनटेस्टर नेपाल’ लाई अब औपचारिक रूपमा दर्ता गरी संस्थागत संरचनामा लैजाने योजना रहेको खुलासा गरे ।

“हामीले गत वर्षदेखि नै यसलाई दर्ता गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने, “अब यसलाई अझ व्यवस्थित बनाई ‘ओवास्प’ जस्तै नेपालको सन्दर्भमा सान्दर्भिक हुने साइबर सुरक्षा निर्देशिकाहरू तयार गर्ने र सदस्यता प्रणालीमार्फत समुदायका सदस्यलाई थप अवसर प्रदान गर्ने हाम्रो लक्ष्य छ ।” 

विगत आठ वर्षदेखि नेतृत्व सम्हालेको स्मरण गर्दै दाहालले अबको केही समयपछि आफूहरू सल्लाहकारको भूमिकामा रहने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने योजना रहेको बताए । यो आफ्नो समुदायको लिडरको रूपमा अन्तिम वर्ष हुन सक्ने संकेतसमेत उनले दिए ।

इथिकल ह्याकर दिक्षा श्रेष्ठ

कार्यक्रममा विभिन्न साइबर सुरक्षा विज्ञले आफ्नो ज्ञान र अनुभव प्रस्तुत गरेका थिए । साइबर सुरक्षा अनुसन्धानकर्ता दीक्षा श्रेष्ठले बग बाउन्टी र वेब एप्लिकेसन पेनटेस्टिङमा आफ्नो यात्राबारे चर्चा गरिन् । त्यस्तै साइबर सुरक्षा अनुसन्धानकर्ता रिकेश बानियाँले ह्याकिङ सपोर्ट पोर्टलका बारेमा आफ्नो अनुभव राख्दा बग बाउन्टी हन्टर मनोज गौतमले ‘द इजी ह्याकर्स गाइड टु फेसबुक ग्राफक्यूएल’ बारे आफ्नो अनुभव र तरिका सिकाए ।

त्यसैगरी निरज खरेलले ‘व्हेयर इन्टेन्ट गोज रंग’ बारे आफ्नो अनुभव सुनाए भने कृतिका कपालीले एआई गभर्नेन्स र वैभव झाले ‘ओअथ टाइमिङ अट्याक’ बारे जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनकै लागि दाङबाट १५ वर्षीय आर्यन घर्ती र विराटनगरबाट आनन्द केसरी आएका थिए । “म आफूलाई जुनियर पेनटेस्टर भन्न रुचाउँछु,” आर्यनले उत्साहित हुँदै कार्यक्रममा भने, “नेटवर्किङ गर्न, आफूले नजानेका कुराहरू सिनियर दाइ, दिदीबाट सिक्नकै लागि म दाङबाट सोझै यहाँ आएको छु ।”

अर्कोतर्फ पेनटेस्टर नेपालले आयोजना गरेको ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता सञ्चालन भएको थियो । ३० भन्दा बढी टिम सहभागी रहेकोमा प्रत्येक टिममा तीन जना ह्याकर थिए । त्यसमध्येबाट टिम विनोद (V1n0d) १६ हजार बढी पोइन्ट ल्याएर विजेता बनेको थियो । त्यस्तै १४ हजार ६५० पोइन्ट सहित टिम एओएचएफ (AOHF) दोस्रो र आठ हजार ४९ पोइन्टसहित डेडक्याट टिम (DEADCAT) तेस्रो बनेको थियो । उत्कृष्ट टिमले क्याश भौचर, प्रमाणपत्र पाएका थिए ।

दाहालले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने बगक्राउड, ह्याकरवन, अल्टर सेक्युरिटी, एपीआई सेक्युरिटी, रोबिक्स क्लाउड, स्टिकरमाण्डु लगायतलाई धन्यवाद दिए ।

कार्यक्रमको आयोजक युलेन्स कलेजले ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिताका विजेतालाई कलेजमा ‘रिसर्च असिस्टेन्ट’ वा ‘टिचिङ असिस्टेन्ट’को रूपमा काम गर्ने अवसर प्रदान गर्ने घोषणा गरेको छ । यो सहकार्यले नयाँ पुस्ताका ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्तालाई सिक्न र व्यावसायिक बन्न थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ता रिकेश बानियाँ

साइबर सुरक्षा अनुसन्धानकर्ता बैभव झा

साइबर सुरक्षा अनुसन्धानकर्ता मनोज गौतम

साइबर सुरक्षा अनुसन्धानकर्ता निरज खरेल

साइबर सुरक्षा अनुसन्धानकर्ता कृतिका कपाली

पछिल्लो अध्यावधिक: साउन ३१, २०८२ २३:३५