काठमाडौँ । साओमीले आफ्नो सहायक ब्रान्ड रेड्मी अन्तर्गत दुई नयाँ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ । बढ्दो डिजिटल जीवनशैली र स्मार्ट उपकरणप्रतिको आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले ‘रेड्मी वाच ५ एक्टिभ’ र ‘रेड्मी वाच ५ लाइट’ गरी दुई नयाँ मोडेल ल्याएको हो ।
किफायती मूल्यमा लामो समय चल्ने ब्याट्री र स्वास्थ्य निगरानीका विस्तृत सुविधासहित यी स्मार्टवाच बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
रेड्मी वाच ५ एक्टिभ को मूल्य चार हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा २ इन्चको डिस्प्ले छ । एक पटकको फुल चार्जमा १८ दिनसम्म चल्ने ब्याट्री क्षमता यसको मुख्य विशेषता हो । यसका साथै, आवाजबाटै विभिन्न कार्य गर्न सकिने एलेक्सा भ्वाइस असिस्टेन्ट, १४० भन्दा बढी खेल मोडहरू र धातुको बलियो संरचनाले यसलाई दैनिक प्रयोगका लागि उपयुक्त बनाएको कम्पनीको भनाइ छ ।
त्यस्तै, रेड्मी वाच ५ लाइटलाई केही थप सुविधासहितको प्रिमियम मोडेलका रूपमा ७,४९९ रुपैयाँ मा सार्वजनिक गरिएको छ । यसमा रहेको जीएनएसएस (GNSS) प्रविधिले एकैपटक पाँच ओटा स्याटलाइट नेटवर्कमा जोडिएर सही स्थान पहिचान (Location Tracking) गर्न मद्दत गर्छ । जुन विशेषगरी दौडने वा बाहिरी गतिविधि गर्नेहरूका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ ।
“१.९६ इन्चको एमोलेड डिस्प्ले, स्पष्ट कुराकानीका लागि डुअल–माइक्रोफोन, ५० मिटरसम्म पानी नछिर्ने क्षमता (5ATM Water Resistance) र १५० भन्दा बढी वर्कआउट मोडहरूले रेड्मी वाच ५ लाइटलाई फिटनेसप्रेमीहरूका लागि आकर्षक विकल्प बनाएको छ,” कम्पनीले भनेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १८:३३
