प्राइम भिडिओमा मिस्टरबिस्टको शो हिट भएपछि युट्युबर मार्क रोबरको नयाँ शो ल्याउँदै नेटफ्लिक्स
भदौ ३, २०८२ १२:१४
काठमाडौँ । युट्युबमा सात करोडभन्दा बढी सब्सक्राइबर भएका युट्युबर मार्क रोबरले आउँदो वर्ष (२०२६) मा नेटफ्लिक्समा एउटा प्रतियोगिता सम्बन्धी नयाँ शो सुरु गर्ने भएका छन् । नेटफ्लिक्सका अनुसार रोबर्टले यस वर्षको अन्त्यमा आफ्ना सबैभन्दा मनपराइएका, महत्वाकाङ्क्षी र जानकारीमूलक प्रयोगहरू पनि नेटफ्लिक्स प्लेटफर्ममा ल्याउनेछन् ।
नासाका पूर्व इन्जिनियर समेत रहेका उनी विज्ञानमा आधारित अनौठा प्रयोगहरूका लागि विश्वभर परिचित छन् । द भर्जका अनुसार यो नयाँ शो मुख्यतः बच्चाहरू र परिवारहरूका लागि डिजाइन गरिएको हो ।
यसलाई युट्युबका लोकप्रिय क्रियटरहरूलाई आफ्नो स्ट्रिमिङ प्लेटफर्ममा ल्याउने नेटफ्लिक्सको रणनीतिक कदमको रूपमा हेरिएको छ । प्राइम भिडिओमा युट्युब स्टार मिस्टरबिस्टको (MrBeast) 'बिस्ट गेम्स' (Beast Games) नामक गेम शोले असाधारण सफलता पाएपछि नेटफ्लिक्सले यो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ । मिस्टरबिस्टको उक्त शो प्राइम भिडिओको सबैभन्दा धेरै हेरिएको नन्-स्क्रिप्टेड शो बनेको थियो । यसका लागि थप दुई सिजनको नवीकरण पनि भइसकेको छ ।
द वाल स्ट्रिट जर्नलले यसअघि नै नेटफ्लिक्सले मार्क रोबरसँग छलफल गरिरहेको समाचार प्रकाशित गरेको थियो । रोबर बाहेक नेटफ्लिक्सले अन्य प्रमुख युट्युब च्यानलहरूसँग पनि सहकार्य गरिरहेको छ ।
जसमा ६ करोडभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल डुड पर्फेक्ट (Dude Perfect) का निर्माताहरू पनि छन् । उनीहरूसँग नेटफ्लिक्सले नयाँ सिरिजको बारेमा छलफल गरेको छ ।
त्यस्तै यस वर्षको सुरुमा नेटफ्लिक्सले साना बच्चाहरू र प्रारम्भिक शिक्षाका लागि लोकप्रिय मिस रचेल (Ms. Rachel) का भिडिओहरू पनि आफ्नो प्लेटफर्ममा ल्याएको थियो ।
Former NASA engineer and Youtube star Mark Rober is coming to Netflix! He’ll create and host a new competition series in 2026 and bring some of his most beloved experiments to Netflix later this year. pic.twitter.com/MWmrldsSAS
— Netflix (@netflix) August 18, 2025
पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १२:३७
