फेसबुक-इन्स्टाग्राम रिल्समा आयो एआई भ्वाइस ट्रान्सलेसन, एकै भिडिओ विभिन्न भाषामा हेर्न सकिने
भदौ ७, २०८२ २१:१९
काठमाडौँ । फेसबुक र इन्स्टाग्रामले आफ्नो शर्ट भिडिओ सुविधा ‘रिल्स’ मा एआईमा आधारित नयाँ फिचर थपेका छन् । यसअन्तर्गत कन्टेन्ट क्रिएटरले रिल्सलाई फरक भाषामा अनुवादित स्वरमा हेर्न र सुनाउन सक्ने भएका छन् ।
मेटाले ल्याएको यो सुविधामार्फत छुट्टै संस्करण रेकर्ड नगरी नै आफ्ना भिडिओहरू अन्य भाषामा डब र लिप-सिङ्क गरेर पोस्ट गर्न सकिनेछ । पहिलो चरणमा अंग्रेजी-स्पेनी र स्पेनी-अंग्रेजी अनुवाद उपलब्ध भए पनि छिट्टै अन्य भाषामा पनि विस्तार गर्ने तयारी गरिएको मेटाले जनाएको छ ।
सुविधा कसरी प्रयोग गर्ने ?
यो सुविधा प्रयोग गर्न कन्टेन्ट क्रिएटरले ‘Translate your voice with Meta AI’ भन्ने विकल्प क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि ट्रान्सलेसन र लिप-सिङ्क गर्ने सेटिङ मिलाएर रिल्स सार्वजनिक गर्न सकिन्छ । रिल्स अपलोड गर्नुअघि अनुवादलाई रिभ्यु गर्ने सुविधा पनि उपलब्ध छ । अनुवाद तयार भएलगत्तै सूचना आउँछ वा ‘प्रोफेसनल ड्यासबोर्ड’ मा गएर पनि चेक गर्न सकिन्छ ।
दर्शकले आफ्नो रोजाइअनुसार रिल्सलाई अनुवादित भाषामा हेर्न सक्नेछन् । तर चाहेमा सेटिङमार्फत अनुवाद बन्द गर्ने विकल्प पनि राखिएको छ । फेसबुक पेजमार्फत रिल्स अपलोड गर्नेहरूका लागि मेटाले एकै रिल्समा २० ओटासम्म अनुवादित अडियो ट्रयाक अपलोड गर्ने सुविधा पनि दिएको छ । यसले विश्वव्यापी रूपमा फरक भाषा बोल्ने प्रयोगकर्तासम्म कन्टेन्ट पुर्याउन मद्दत गर्ने मेटाको दाबी छ ।

शर्ट भिडिओबारे चिन्ता बढ्दै
एआई सुविधा थप्दै प्रयोगकर्ता अनुभव सुधार गर्ने प्रयाससँगै शर्ट भिडिओको अत्यधिक प्रयोग मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको अनुसन्धानले देखाएको छ । हालै प्रकाशित न्युरोइमेज (NeuroImage) पत्रिकामा चिनियाँ अनुसन्धानकर्ता प्रोफेसर कियाङ वाङको नेतृत्वमा गरिएको अध्ययनले इन्स्टाग्राम, टिकटक, युट्युब शर्ट्सजस्ता छोटा भिडिओले मानिसको मस्तिष्कमा मदिराजस्ता लत लाग्ने पदार्थले गर्ने जस्तै प्रभाव पार्ने निष्कर्ष निकालेको छ ।
अध्ययन अनुसार छोटा भिडिओ बारम्बार हेर्ने प्रयोगकर्ताको दिमागमा लतसँग सम्बन्धित क्षेत्र बढी सक्रिय हुने गरेको पाइयो । यसले ध्यान केन्द्रित गर्ने क्षमता, स्मरणशक्ति र प्रेरणा घटाउने मात्र होइन, डिप्रेसन र निद्रासम्बन्धी समस्या बढाउने खतरा पनि रहने उल्लेख गरिएको छ ।
चीनमा मात्रै प्रयोगकर्ताले औसत १५१ मिनेट दैनिक रूपमा छोटा भिडिओमा समय खर्च गर्ने गरेका छन् । इन्टरनेट प्रयोगकर्तामध्ये झन्डै ९६ प्रतिशत यसमा सक्रिय रहेको तथ्यांकले देखाउँछ । विज्ञहरूले यसलाई दीर्घकालीन मानसिक स्वास्थ्यका लागि सार्वजनिक चुनौतीका रूपमा व्याख्या गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ ७, २०८२ २१:५८
