close

सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु भएन, मन्त्रालय भन्छः ‘जनशक्ति नै छैन’

टेकपाना टेकपाना

भदौ ९, २०८२ १७:३७

सुदूरपश्चिममा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु भएन, मन्त्रालय भन्छः ‘जनशक्ति नै छैन’

काठमाडौँ । सरकारले १ असोजदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट देशभर अनिवार्य गरे पनि सुदूरपश्चिम प्रदेशले भने हालसम्म यसको वितरण नै सुरु नगरेको पाइएको छ । सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइए पनि सुदूरपश्चिम सरकारले हालसम्म वितरणको प्रक्रिया थालेको छैन ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै १ असोजदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको थियो । तर, सुदूरपश्चिम प्रदेशमा भने सरकार आफैँले यो सेवा उपलब्ध गराउन नसक्दा नागरिक दोहोरो मारमा परेका छन् ।

यस विषयमा टेकपानाले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी नरेश शर्मालाई सम्पर्क गर्‍यो । उनले आफू बाहिर भएको भन्दै एक प्रशासनिक कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराए । ती कर्मचारीले जनशक्ति अभावका कारण इम्बोस्ड नम्बर प्लेटको काम अघि बढाउन नसकिएको स्वीकार गरे ।

उनका अनुसार कैलाली र कञ्चनपुरबाट वितरण थाल्ने तयारी भए पनि आवश्यक कर्मचारी र भौतिक पूर्वाधारको व्यवस्थापन हुन सकेको छैन । “कैलाली र कञ्चनपुरबाट वितरण सुरु गर्ने गरी सहमति भएको हो । तर हामीसँग जनशक्ति नै छैन । भर्खरै एकजना मात्रै कर्मचारी आएका छन्, यतिले काम सुरु गर्न सम्भव छैन । जनशक्ति व्यवस्थापन र अन्य भौतिक पूर्वाधारको तयारीकै क्रममा छौँ,” उनले भने ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय, धनगढी (कैलाली) र यातायात व्यवस्था कार्यालय, महेन्द्रनगर (कञ्चनपुर) लाई इम्बोस्ड नम्बर प्लेट वितरणको केन्द्र तोकेको छ । तर, ती कार्यालयका प्रतिनिधिहरू नै यस प्रक्रिया र तयारीबारे पूर्ण रूपमा अनभिज्ञ छन् ।

पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १८:३