ब्ल्याकभ्युको नयाँ ट्याब्लेट नेपाली बजारमा, किबोर्ड, माउस र पेनसहित २ दिनसम्म टिक्ने ब्याट्री
भदौ १२, २०८२ १३:५६
काठमाडौँ । ब्ल्याकभ्युले आफ्नो नयाँ मेगा २ ट्याब्लेट नेपाली बजारमा ल्याएको छ । विशेष गरी विद्यार्थी र सामान्य प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो ट्याब्लेट भित्र्याइएको हो ।
आकर्षक डिजाइन र फिचरले भरिपूर्ण यो ट्याब्लेटले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । मेगा २ अघिल्लो मेगा ३ जस्तै निलो रङमा उपलब्ध छ र यसको मिनिमल र सुन्दर डिजाइन निकै आकर्षक देखिन्छ ।
प्लास्टिक बिल्ड भए पनि यो स्लिक देखिन्छ र यसमा बेजलहरू साइडवेमा रहेका छन् । ठुलो १२ इन्चको स्क्रिन साइजका कारण केही भारी भए पनि यसलाई बोक्न र काम गर्न सहज रहेको उल्लेख छ । यो ट्याब्लेट पूर्ण प्याकेजमा आउँछ, जसमा किबोर्ड, माउस र पेन समावेश छन् ।
ब्ल्याक भ्यु मेगा २ मा फुल एचडी प्लस आईपीएस डिस्प्ले रहेको छ, जसले राम्रो भ्युइङ अनुभव प्रदान गर्दछ । यो ट्याब्लेट एन्ड्रोइड १५ मा आधारित छ र यसमा युनिसक टी ६१५ अक्टा कोर प्रोसेसर राखिएको छ । सामान्य कार्यहरू जस्तै ब्राउजिङ, क्याजुअल गेमिङ, अनलाइन क्लास, सामाजिक सञ्जाल लगायत अन्य सामान्य एप्लिकेसनहरू सहज रूपमा चलाउन सकिन्छ ।
यद्यपि, यो चिपसेट हेभी ग्राफिक्स र डिमान्डिङ गेमहरूका लागि भने उपयुक्त छैन । मल्टी टास्किङ यसमा मजाले गर्न सकिन्छ । यसको यूआई मेगा ३ सँग मिल्दोजुल्दो छ र यसमा खासै ब्लोटवेयरहरू छैनन्, जसले गर्दा प्रयोगकर्तालाई यसमा अभ्यस्त हुन सजिलो हुन्छ ।
ट्याब्लेटसँगै आउने पेन प्रयोग गरेर डुडलिङ (ड्रइङ) र स्क्रिब्लिङ (केरकार) को आनन्द लिन सकिन्छ । डेस्कटप जस्तो अनुभवका लागि पीसी मोड अन गरेर पनि ट्याब्लेट चलाउन सकिन्छ । किबोर्ड, पेन र माउसको साथमा स्क्रिप्टिङ वा शिटहरूमा काम गर्दा यो निकै उपयोगी भएको पाइएको छ ।
कस्टमाइजेसनका लागि स्मार्ट विन्डो सुविधा छ, जहाँ मनपर्ने वा बढी प्रयोग हुने एप्लिकेसनहरू राखेर छिटो पहुँच गर्न सकिन्छ । यद्यपि वालपेपर र थिमहरूमा सीमित विकल्पहरू मात्र उपलब्ध छन् ।
मेगा २ मा ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । दुवै क्यामेरा काम चलाउ छन् र अनलाइन मिटिङ, भिडिओ कल वा मोमेन्टहरू क्याप्चर गर्नका लागि ठिकठाक छन् । यसमा १२ जीबी र्याम र २५६ जीबी इन्टरनल स्टोरेज दिइएको छ ।
यस ट्याब्लेटमा ९००० एमएएच क्षमताको ब्याट्री छ र यसले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । सामान्य प्रयोगमा एक पटकको चार्जमा ब्याट्री २ देखि ३ दिनसम्म टिक्छ भने भिडिओ मात्र हेर्दा पनि डेढ दिनपछि चार्ज गरे पुग्छ । यसको ब्याट्री लाइफ मेगा ३ भन्दा राम्रो मानिएको छ ।
कनेक्टिभिटीका लागि यसमा डुअल ब्यान्ड वाईफाई र बक्स स्पिकरहरू उपलब्ध छन् । स्पिकरको अडियो म्युजिक सुन्न र गेम खेल्नका लागि ठीक छ । तर धेरै लाउड भने छैन । यो ट्याब्लेट दुई भेरियन्टमा उपलब्ध छ: मेगा २ सेलुलर र मेगा २ वाई-फाई । सेलुलर संस्करणमा डुअल सिमको सुविधा पनि पाइन्छ । ट्याब्लेटमा सुरक्षाका लागि पिन र पासवर्ड लगायतका विकल्पहरू छन् ।
ब्ल्याकभ्यु मेगा २ कलेज जाने विद्यार्थीहरूलाई अनलाइन क्लास, पढाइ, रिमोट वर्करहरूलाई सामान्य काम गर्न, पेसेवरहरूलाई इमेल चेक गर्न र महत्त्वपूर्ण कागजातहरू पढ्न र यात्रुहरूलाई मनोरञ्जनका लागि एक राम्रो विकल्प हुन सक्छ ।
नेपाली बजारमा मेगा २ वाई-फाईको मूल्य २८ हजार ९९९ रुपैँया रहेको छ भने मेगा २ सेलुलरको मूल्य ३१ हजार ९९९ रुपैँया तोकिएको छ । लन्च अफरमा यो ट्याब्लेटको खरिदमा एउटा किबोर्ड र ब्ल्याकभ्युको एयरबड्स २० निःशुल्क प्राप्त गर्न सकिन्छ । ब्ल्याकभ्युका ट्याब्लेटहरू अनलाइन मार्केटप्लेस दराज, कम्पनीको आधिकारिक वेबसाइट यन्त्रनेपाल डटकम र अफलाइन स्टोरहरूमा उपलब्ध छन् । यसबाहेक ताम्राकार कम्प्लेक्सको ग्राउन्ड फ्लोरमा रहेको पसल नम्बर ८ मा पनि यो ट्याब्लेट किन्न सकिने छ ।
पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १३:५६
