close

अली पेसँग जोडियो फोनपे, १७ अन्तर्राष्ट्रिय वालेटबाट पर्यटकले नेपालमा भुक्तानी गर्नसक्ने

टेकपाना टेकपाना

भदौ १२, २०८२ २०:८

अली पेसँग जोडियो फोनपे, १७ अन्तर्राष्ट्रिय वालेटबाट पर्यटकले नेपालमा भुक्तानी गर्नसक्ने

काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक फोनपेले चीनको विश्वव्यापी भुक्तानी सेवा प्रदायक अलिपे प्लससँग औपचारिक सहकार्य गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच दुई देशका पेमेन्ट नेटवर्क औपचारिक रूपमा एक आपसमा जोडिएका हुन्  ।

यससँगै अब अलिपेको नेटवर्कमा आबद्ध विश्वका विभिन्न देशका १७ ओटा अन्तर्राष्ट्रिय वालेटहरूमार्फत नेपालमा फोनपे क्यूआर कोडमा भुक्तानी गर्न सम्भव हुनेछ । यसअन्तर्गत टच एन्ड गो (Touch 'n Go), जीक्यास (GCash), अलिपे (Alipay), टस पे (Toss Pay), ट्रु मनी (True Money) लगायतका वालेट सामेल छन् ।

अलिपेको अभिभावक कम्पनी आन्ट ग्रुपका दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, अस्ट्रेलिया र न्युजिल्यान्डका लागि प्रबन्ध निर्देशक एडवार्ड युईले यस सेवाबाट विश्वभरका पर्यटकले नेपालमा सहजै क्यूआर भुक्तानी गर्न सक्ने वातावरण बनेको बताए ।

यो सुविधा विशेषगरी चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जर्मनी लगायतका देशका पर्यटकका लागि लाभदायक हुने बताइएको छ । अलिपे प्लसले ३६ ओटा अन्तर्राष्ट्रिय भुक्तानी एपहरू, १.७ अर्ब बढी कन्जुमर अकाउन्ट र १० करोड बढी मर्चेन्टहरूलाई ७० भन्दा बढी बजारमा जोडेको छ । 

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवश कुमारले यस सहकार्यबाट फोनपे नेटवर्कमा आबद्ध १७ लाखभन्दा बढी मर्चेन्टहरूले अब विभिन्न अन्तर्राष्ट्रिय वालेटबाट सहजै भुक्तानी प्राप्त गर्न सक्ने जानकारी दिए । “यसबाट नेपाल भ्रमणमा आउने पर्यटकको अनुभूति अझ सहज हुनेछ र नेपाली व्यवसायलाई विश्वव्यापी ग्राहकहरूसँग जोड्न मद्दत पुग्नेछ,” उनले भने । यो साझेदारीले नेपालमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्नुका साथै पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उनले अपेक्षा राखे ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ २२:१७