सुमना श्रेष्ठको सरकारलाई प्रश्न- इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन किन अन्योलमा ?
भदौ १६, २०८२ १६:३७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन प्रक्रिया, यसको औचित्य र नागरिकमा देखिएको अन्योलताबारे सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार यातायात व्यवस्था विभागलाई एक पत्र लेख्दै सांसद श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट जडानमा देखिएका विभिन्न समस्या र प्रश्नहरूको स्पष्ट जवाफ माग गरेकी हुन् ।
इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन प्रक्रियाबारे नागरिकहरूमा अझै पनि धेरै प्रश्न, गुनासो र अन्योलताहरू रहेको भन्दै उनले यसको आवश्यकता, जडान प्रक्रिया, मूल्य र यसबाट नागरिकमा परेको भारबारे स्पष्टीकरण खोजेकी छन् ।
इम्बोस्ड नम्बर प्लेटको नयाँ र पुरानो सवारी साधन दुवैमा जडान अनिवार्य गर्नुको कारण, यसको सुरक्षा भिन्नता, देशभरका कार्यालयबाट दैनिक जडान क्षमताको तथ्यांक, सर्वोच्च अदालतको आदेशबमोजिम प्रदेशको नाम देवनागरी लिपिमा लेख्ने कुराको कार्यान्वयन अवस्था र ढिलाइको कारणबारे उनले प्रश्न गरेकी छन् ।
पत्रमा उनले इम्बोस्ड नम्बर प्लेट महँगो भएको गुनासो व्यापक रहेको र यसको गुणस्तर ग्यारेन्टीसहित औचित्य बुझाउन माग गरेकी छन् । इम्बोस्ड नम्बर प्लेट जडान भएपछि बिलबुकमा विवरण अद्यावधिक नभएको अवस्थामा नागरिकले भोग्नुपरेको समस्या र इम्बोस्ड नम्बर प्लेटको डेटाबेस अन्य सेवाका डेटाबेसमा जोड्ने काममा भएको ढिलाइबारे पनि उनले जवाफ मागेकी छन् ।
साथै यस्तो प्लेट जडानलाई सवारी कर र जरिवानासँग जोडेर नागरिकमा थप आर्थिक भार पार्न खोजिएको हो कि भन्ने आशंका उनको छ । उनले अहिलेको प्रक्रियामा वा शुल्कमा परिवर्तन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको समेत जवाफ माग गरेकी छन् ।
एम्बोस्ड नम्बर प्लेट कार्यान्वयन प्रक्रिया र त्यसमा लाग्ने मूल्यबारे नागरिकहरूको धेरै प्रश्न, गुनासो र अन्योलताहरु रहेका छन्।
— Sumana (@SumanaShrestha) September 1, 2025
ती प्रश्न तथा अन्योलताहरु स्पष्ट पार्न, औचित्य बुझ्न र नागरिकलाई परेका समस्या बुझाउनको लागि हामीले यातायात व्यवस्था विभागलाई पत्राचार गरेका छौं।… pic.twitter.com/KeGi7l9RN4
पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १७:१९
