टेलिकमलाई मन्त्री गुरुङले भने- प्रधानमन्त्रीलाई वचन दिइसकेको छु, जसरी पनि फाइभजी सुरु गर्नू
भदौ १६, २०८२ १८:५३
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न फाइभजी नेटवर्क अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुरु गर्न निर्देशन दिएका छन् ।
सोमबार ललितपुरमा टेलिकमले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै वर्ष फाइभजी सेवा सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न टेलिकमलाई गम्भीर भएर लाग्न निर्देशन दिएका हुन् ।
“दक्षिण एसियामा फाइभजी नेटवर्क प्रयोग भइसकेको छ । हामी निकै पछि परेका छौँ । प्रधानमन्त्री र मबिच यसै वर्ष फाइभजी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ,” उनले भने । सो अवसरमा उनले काठमाडौँ र पोखराबाट फाइभजी सेवा विस्तार गर्न टेलिकमलाई निर्देशन दिए ।
चालु आर्थिक वर्षको कार्ययोजनाले तोकेका लक्ष्य प्राप्तिमा इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि मन्त्री गुरुङले आग्रह गरे । उनले फोरजी नेटवर्कको उपलब्धता जनताको घरदैलोमा व्यापक बनाउन पनि निर्देशन दिए ।
सरकारको डिजिटिल नेपाल फ्रेमवर्क (डीएनएफ) को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार गर्न, सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न टेलिकमको नेटवर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले त्यसमा ध्यान दिन आग्रह गरे ।
पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १९:८
