close

महावीर पुनको जीवनीमा आधारित अडियोबुक सार्वजनिक, मूल्य ५०० रुपैयाँ

टेकपाना टेकपाना

भदौ १६, २०८२ २०:३०

महावीर पुनको जीवनीमा आधारित अडियोबुक सार्वजनिक, मूल्य ५०० रुपैयाँ

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवनीमा आधारित पुस्तक ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ को अडियो संस्करण सार्वजनिक भएको छ । म्युजिक नेपालले सोमबार आफ्नो आधिकारिक एप ‘मोमो’ मार्फत उक्त अडियोबुक सार्वजनिक गरेको हो ।

कुल १० घण्टा २५ मिनेट लामो यो अडियोबुकमा १८ भाग समावेश छन् । श्रोताले सुरुवाती सात मिनेटको अंश निःशुल्क सुन्न सक्नेछन् भने बाँकी भाग सुन्नका लागि ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

म्युजिक नेपालको मोमो एपमा एनसेल र जीमेल अकाउन्टमार्फत लगइन गर्न सकिन्छ । एनसेलबाट लगइन गर्ने प्रयोगकर्ताले सोही नेटवर्कबाट भुक्तानी गर्न सक्नेछन् भने जीमेलबाट लगइन गर्नेहरूका लागि इसेवा, खल्ती, स्ट्राइप र इन-एप भुक्तानीको विकल्प उपलब्ध छ ।

कम्पनीका अनुसार एक पटक खरिद गरेपछि अडियोबुक १२ महिनासम्म सुन्न सकिनेछ ।

पुनले दुई दिन लगाएर रेकर्ड गरेको उक्त अडियोबुक त्यसको झण्डै पाँच महिनापछि सार्वजनिक भएको हो । यस एपमा अन्य अडियोबुकको मूल्य भने ३०० रुपैयाँ राखिएको छ ।

पुनले पुस्तक बिक्री भएर आम्दानी गरेको रकम वीरगञ्जस्थित वीरगञ्ज कृषि औजार कारखानामा खर्च गर्ने प्रतिवद्धता दिएका छन् । हाल कारखानाको काम द्रुत गतिमा अगाडि बढिरहेको छ ।

अडियोबुकको सन्दर्भमा भने यसबाट आउने कति रकम म्युजिक नेपालले राख्छ र कति पुनलाई उपलब्ध गराउँछ भन्ने जानकारी खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ २२:२६