close

फिल्म प्रमोसनमा फेरि ‘साइबर सेना’ विवाद, दीपकराज गिरी र सन्तोष सेनबिच फेसबुकमा वाकयुद्ध

टेकपाना टेकपाना

भदौ १७, २०८२ १६:१३

फिल्म प्रमोसनमा फेरि ‘साइबर सेना’ विवाद, दीपकराज गिरी र सन्तोष सेनबिच फेसबुकमा वाकयुद्ध

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली फिल्मको प्रचार प्रसारका क्रममा नकारात्मक कमेन्ट गर्न ‘साइबर सेना’ परिचालनको विषयलाई लिएर विवाद छेडिएको छ ।

‘छक्कापञ्जा’ सिरिज सहित विभिन्न सफल चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी र ‘प्रेम गीत’ सिरिज सहितका चलचित्रका निर्माता सन्तोष सेनबिच यस विषयमा फेसबुकमा वाकयुद्ध चलेको हो ।

गिरीले मंगलबार बिहान ८:२३ मा साइबर सेनाविरुद्ध एक स्टाटस लेखे । उनले लेखेका छन्, “आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्म लाइ गालि गर्न लगाउने काम बन्द गरौ ! आफ्नो हिरो बाघ ! अरूको स्याल? याद गरौ बाघ पनि जनाबर नै हो !” उक्त स्टाटसमा दीपकले कुनै व्यक्तिलाई पनि सोझै तोकेका छैनन् ।  

उक्त स्टाटसमा निर्माता सन्तोष सेनले आफूलाई आरोप लगाएको भन्दै त्यसको खण्डन सहित “तिम्रो सोचमै पाप छ…” भन्दै लामो कमेन्ट लेखेका छन् । उक्त स्टाटसमा उनले आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बलिदान’ का पोस्टहरूमा नकारात्मक कमेन्ट गराउने काम दीपकराज गिरीको हो भन्दै प्रश्न गरेका छन् । 

उक्त कमेन्ट सेनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत राखेका छन् । गिरीको स्टाटसको स्क्रिनशट सहित राखेको उक्त कमेन्टमा उनले लेखेका छन्, “तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठुला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो..”

यता निर्माता सेनको उक्त कमेन्टपछि पहिलो पोस्ट गरेको करिब डेढ घण्टापछि बिहान ९:४५ मा दीपकराज गिरीले पुन: अर्को स्टाटस राखे । जहाँ उनले सेनप्रति कटाक्ष गर्दै भनेका छन्, “चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले ! बिचरो न त ब्यंग्य बुझ्छ ! न बौद्धिकता थाहा छ, बुरूक बुरूक साँढे उफ्रे झै उफ्रिन्छ, माया लाग्छ !”

हरेक वर्ष जस्तै यस वर्षपनि दशैँको अवसरमा सिनेमा हलहरूमा नयाँ फिल्म लाग्ने तयारीमा छ । फूलपाती (१३ असोज) मा मात्रै सिनेमाहलहरूमा ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आउँदै छ ।

गत वर्ष पनि फूलपातीकै दिन असोज २४ मा सिनेमा हलमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आएका थिए । तर, चलचित्र सार्वजनिक हुनुभन्दा पहिलादेखि नै ‘छक्कापञ्जा ५’ को पक्षमा सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया देखिएको भन्दै गिरीले आफू विरुद्ध साइबर सेना परिचालन भएको आरोप लगाएका थिए । उनले भनेका थिए, “राजनीतिमा साइबर सेना त सुनेकै हो अब चलचित्र क्षेत्रमा पनि आएछ ।”

त्यस बेलामा ‘१२ गाउँ’को निर्माता समेत रहेका अभिनेता विराज भट्टले साइबर सेनाको परिचालन गरेको भन्नेलाई ‘१२ गाउँ’ कस्तो बनेको छ भनेर हलमै आएर हेर्न समेत भनेका थिए । यता ‘१२ गाउँ’ माथि साइबर आक्रमणको आरोप लागिरहँँदा सेनले पनि सार्वजनिक रूपमा यसको विरुद्धमा बोलेका थिए । सोही विवाद चलिरहँदा दीपकराज गिरीले प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा सेनको कमान्डिङ राम्रो भएको प्रतिक्रिया दिएका थिए । 

‘कुन रुपमा चिन्नुहुन्छ ?’ सेग्मेन्टमा सेनको तस्बिर देखाउँदै प्रश्न गरेका थिए,  “उहाँलाई कमान्डर भन्दा रहेछन् नि हो ?” जवाफमा उनले आफूले पनि यसको बारेमा सुनेको भन्दै सेनको कमान्डिङ राम्रो रहेको बताएका थिए । उक्त प्रतिक्रियापछि सेनले फेसबुकमा लामो भिडिओ सार्वजनिक गर्दै आफूलाई साइबर कमान्डर प्रमाणित गर्न चुनौती दिएका थिए । 

मंगलबार गिरीको स्टाटससहित सोही विवाद पुन: दोहोरिएको छ । यता गिरीले आफ्नो लडाइँ खेताला लगाएर गालीगलौज गर्ने संस्कृति विरुद्धमा रहेको बताउँदै आफ्ना पछिल्लो स्टाटसमा कमेन्ट सेक्सन गरेका छन् । उनले लेखेका छन्, “आज धेरै खेतालाहरू लाइ ब्लक गर्नु परेको छ, किनकि यो लडाइ , खेताला लगाएर गालि गलौच गर्ने संस्कृती बिरूद्द को लडाइ हो। र यो युद्द सबै चलचित्रकर्मीको युद्द हो , साथ दिने सबै लाइ धन्यवाद !”

पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १७:५३