जनतालाई प्रतिबन्ध लगाएर प्रधानमन्त्री ओली भने फेसबुक-ह्वाट्सएपमा सक्रिय !
भदौ २०, २०८२ १४:२४
काठमाडौँ । नागरिकलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर प्रधानमन्त्री केपी शर्मा ओली भने सूचना प्रवाहका लागि फेसबुक-ह्वाट्सएपमा सक्रिय भएको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सूचीकरणका लागि दिइएको समयसीमाभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै अधिकांश इन्टरनेट सेवाप्रदायक र टेलिकम अपरेटरहरूले आफ्नो नेटवर्कबाट क्रमशः सामाजिक सञ्जालहरू निष्क्रिय बनाइरहेका छन् । तर, प्रधानमन्त्री ओलीकै सचिवालयले फेसबुक र ह्वाट्सएपमार्फत प्रधानमन्त्रीका गतिविधि पोस्ट गरिरहेका छन् ।
आज नेकपा एमालेको विधान अधिवेशन सुरु भएको सन्दर्भमा प्रधानमन्त्री ओलीको टिमले चलाउने सामाजिक सञ्जाल ग्रुप र पेजहरूमा अधिवेशनका तस्बिरहरू धमाधम पोस्ट गरिरहेकाका छन् । विशेषगरी ‘PM KP SHARMA OLI'S Secretariat’ नामक फेसबुक पेज र ‘PM KP Sharma OLi (Official Press Group)’ नामक ह्वाट्सएप समूहमा तस्बिरहरू र सूचनाहरू नियमित रूपमा सार्वजनिक रूपमा सम्प्रेषण भइरहेको छ ।

नेपालमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्यब, एक्स लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले कसरी यी प्लेटफर्म प्रयोग गरिरहेको छ भन्ने विषयले अहिले जनमानसमा कौतूहल सिर्जना गरेको छ ।
सरकारले ९ भदौको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सूचीकरणका लागि आह्वान गरेको थियो । त्यसपछि हिजो बिहीबार सञ्चार मन्त्रालयले २६ ओटा सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
मन्त्रालयका अनुसार, हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ गरी पाँच ओटा सामाजिक सञ्जालहरू मात्र सूचीकृत भएका छन् ।
जनताले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने, तर प्रधानमन्त्री र उनको सचिवालयले निर्वाध रूपमा प्रयोग गर्ने अवस्थाले सामाजिक सञ्जाल प्रतिबन्ध निर्णयको औचित्यमाथि बहस सिर्जना गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १४:५९
