सामाजिक सञ्जाल बन्द गरेकोमा टिकटकमाथि प्रतिबन्ध लगाएका पूर्व प्रम प्रचण्डको पनि आपत्ति
भदौ २०, २०८२ १५:१४
काठमाडौँ । आफू प्रधानमन्त्री हुँदा टिकटकमाथि प्रतिबन्ध लगाएका माओवादी अध्यक्ष प्रचण्डले बिहीबार सरकारले २६ ओटा सामाजिक सञ्जाल बन्द गर्दा भने विरोध गरेका छन् ।
वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको भन्दै प्रतिबन्धको विरोध गरेका हुन् ।
सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० को मन्त्रिपरिषद् बैठकमार्फत टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । जसलाई केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षअघि फुकुवा गरेको थियो ।
उनले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको टिप्पणी गरेका छन् ।
“सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो,” प्रचण्डले फेसबुकमा लेखेका छन् ।
उनले सरकारको उक्त निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको लेखेका छन् ।
“हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ । त्यसैले संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो । यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु,” उनले लेखेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १५:२२
