काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध भरतपुरमा जेन-जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन झडपमा परिणत भएको छ । भरतपुर महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शनकारी र प्रहरीबिच तनाव सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको हो ।
प्रदर्शनमा सहभागी एक स्थानीय युवक अर्जुन अधिकारीका अनुसार बिहान ९ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा दिउँसो १२ बजेपछि तनाव सिर्जना भएको थियो । “सुरुमा प्रदर्शन शान्तिपूर्ण नै थियो, पछि विभिन्न राजनीतिक दलका व्यक्ति प्रवेश गरेपछि माहोल बिग्रियो,” उनले भने, “प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले जवाफमा अश्रु ग्यास हान्यो ।”
सुरुमा जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रदर्शनकारीहरू पछि र्यालीसहित महानगरपालिकाको कार्यालयतर्फ अघि बढेका थिए । प्रदर्शनमा अधिकांश किशोरकिशोरी तथा युवाहरू थिए । स्थानीय सञ्चारमाध्यम ‘चितवन आज’का अनुसार उनीहरूमध्ये धेरैजना विद्यालय तथा क्याम्पसको पोसाकमै प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले सरकारविरोधी नारा लगाउँदै भ्रष्टाचार र बेथितिको अन्त्य गर्न माग गरेका थिए ।
झडपपछि भरतपुर महानगरपालिका वरपरको क्षेत्र तनावग्रस्त बनेको छ भने बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीहरू तितरबितर भए पनि केही समूह अझै आसपासमा रहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १६:२४
