close

भीपीएन प्रयोग अत्यधिक बढ्दा ब्यान्डविथले धान्नै नसक्ने स्थिति, बेलुकाबाट सेवा अवरुद्ध हुन सक्ने

टेकपाना टेकपाना

भदौ २३, २०८२ १६:३७

भीपीएन प्रयोग अत्यधिक बढ्दा ब्यान्डविथले धान्नै नसक्ने स्थिति, बेलुकाबाट सेवा अवरुद्ध हुन सक्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले भीपीएन प्रयोग अत्यधिक बढ्दा सोमबार बेलुकापछि इन्टरनेट ट्राफिक धान्न नसकेर सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन् ।

सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाएपछि भीपीएन प्रयोग गर्नेको संख्या अत्यधिक बढ्दा आयात हुने इन्टरनेट ब्यान्डविथले धान्न नसक्ने स्थितिमा पुगेको हो ।

इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भीपीएन प्रयोग अत्यधिक बढ्दा ब्यान्डविथ क्षमताभन्दा त्यसको ट्राफिक ४० प्रतिशत बढी पुगिसकेको जानकारी दिए ।

“हामी इन्टरनेट सेवा प्रदायकहरूको क्षमताभन्दा ४० प्रतिशत बढी ट्राफिकले हाम्रो प्रणालीमा हिट गरिरहेको छ । रिफ्रेस गराउँदा गराउँदा हैरान भइसक्यौं । बेलुकासम्म धानिएपनि त्यसपछि धान्न सकिने अवस्था छैन । बेलुका पछि नेपाली साइटहरू पनि खुल्न नसक्ने स्थिति देखिंदैछ,” पराजुलीले टेकपानासँग भने ।

पराजुलीका अनुसार यो अवस्थाको विषयमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल दूरसञ्चार प्राधिकरणलाई मौखिकरुपमा जानकारी गराइसकेको बताए । 

“हामीले मौखिकरुपमा सम्बन्धित निकायलाई यस अवस्थाबारे जानकारी गराइसकेका छौँ । लिखितरुपमा दिने अवस्था अहिले छैन,” पराजुलीले भने ।   

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १६:५३