close

युवाको माग तत्काल पूरा गर्न कांग्रेस नेता भण्डारीको आग्रह

टेकपाना टेकपाना

भदौ २३, २०८२ १६:५८

युवाको माग तत्काल पूरा गर्न कांग्रेस नेता भण्डारीको आग्रह

काठमाडौँ । देशव्यापी रूपमा जारी जेन-जी आन्दोलनका क्रममा युवा प्रदर्शनकारीहरूमाथि भएको प्रहरी दमन र गोली प्रहारको घटनाप्रति नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले कडा आपत्ति जनाउँदै सरकारलाई तत्काल युवाका माग सम्बोधन गर्न आग्रह गरेका छन् । उनले राष्ट्रिय झण्डा बोकेका युवालाई गोली प्रहार गरिनु र प्रदर्शनका क्रममा युवाको मृत्यु हुनु क्षमा दिन नमिल्ने काम भएको बताएका छन् ।

सांसद भण्डारीले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई प्रत्यक्ष सम्बोधन गर्दै ‘युवाको माग तुरुन्त पूरा गर’ भनेका छन् । उनले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवामाथि भएको दमनको निन्दा गर्दै लेखेका छन्. “राष्ट्रिय झण्डा बोकेका युवालाई गोली !!! युवाको मृत्यु दुःखद् !!!”

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन र भ्रष्टाचार अन्त्यको माग गर्दै आज जेन-जी पुस्ताले देशभर प्रदर्शन गरिरहेको छ । यी प्रदर्शनहरू कतिपय स्थानमा हिंसात्मक बन्दै गएका छन् र प्रहरीसँगको झडपमा केही युवाले ज्यान गुमाइसकेका छन् भने सयाैँ घाइते भएका छन् । सरकारले कर्फ्यु र निषेधाज्ञा जारी गरे पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।

 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १६:५८