जेनजी प्रदर्शनमा बर्बर दमन भएकोप्रति डिजिटल फ्रिडम कोलिसनको कडा निन्दा, प्रमको राजीनामा माग
भदौ २३, २०८२ २१:४८
काठमाडौँ । नयाँ पुस्ता (जेन-जी) ले सोमबार गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनप्रति डिजिटल फ्रिडम कोलिसनले कडा निन्दा गरेको छ । एक विज्ञप्ति जारी गर्दै कोलिसनले यो घटनालाई आधुनिक लोकतन्त्रमा अत्यन्तै कालो दिनको संज्ञा दिएको छ ।
यस क्रूर हिंसाका लागि वर्तमान सरकार पूर्ण रूपमा जिम्मेवार रहेको कोलिसनको ठहर छ ।
डिजिटल फ्रिडम कोलिसन लगायत २२ संस्थाहरूले १९ भदाैमै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै निरन्तर खबरदारी गर्दै आएपनि सरकारले सुझाव बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ । यसकै परिणाम स्वरूप यो अप्रिय र असामान्य परिस्थिति सिर्जना भएको उसको भनाइ छ ।
कोलिसनले यस घटनाका लागि जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई तत्काल राजीनामा दिन माग गरेको छ । साथै, बर्बरतापूर्ण दमनमा संलग्न गृह सचिव, सञ्चार सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सबैलाई तत्काल बर्खास्त गरी कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको छ ।
यस घटनाको न्यायिक छानबिन समिति तत्काल गठन गर्न समेत कोलिसनले माग गरेको छ ।
यस विज्ञप्तिलाई समर्थन गर्ने संस्थाहरूमा डिजिटल फ्रिडम कोलिसन, इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट, फ्रीडम फोरम नेपाल, मिडिया एक्सन नेपाल, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एन्टेना फाउन्डेसन नेपाल, डिजिटल मिडिया फाउन्डेसन, एजुकेटिंग नेपाल, युथ आईजिएफ नेपाल, फोरम फर डिजिटल इक्वालिटी, वुमन्स ग्रुप फोर डिस्याबिलिटी राइट्स, मिडिया लयर्स एशोसियशन, अनलाइन टिभी पत्रकार संघ, श्रमजीवी पत्रकार सङ्घ नेपाल लगायतका संस्थाहरू रहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ २१:४८
