केयूको पठनपाठन छठ पछि मात्रै, होस्टलमा बस्ने विद्यार्थीलाई घर फर्कन सहयोग गरिने
भदौ २७, २०८२ १२:२४
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको पठनपाठन हालका लागि बन्द गरिएको छ । बिहीबार विश्वविद्यालयले एक सूचना जारी गर्दै शिक्षक, विद्यार्थी र कर्मचारीलाई आवागमनमा समस्या परेको भन्दै छठपछि मात्र अध्ययन/अध्यापन सञ्चालन हुने जानकारी दिएको हो ।
पूर्वनिर्धारित परीक्षा सञ्चालनका लागि भने पठनपाठन सुरु भएपछि सूचना प्रकाशन गरिने विश्वविद्यालयले जनाएको छ । विभिन्न स्कुलबाट सञ्चालन भइरहेका परीक्षाहरू सम्बन्धित स्कुलका डिन र परीक्षा नियन्त्रकले आवश्यक समन्वय गरी निर्णय लिन सक्ने विश्वविद्यालयले उल्लेख गरेको छ ।
यस्तै, विश्वविद्यालयका होस्टलहरूमा बस्ने विद्यार्थीलाई शुक्रबार र शनिबार काठमाडौँसम्म पुर्याउने व्यवस्था गर्ने विश्वविद्यालयले जानकारी दिएको छ । काठमाडौँसम्म जान चाहने विद्यार्थीले यहाँ क्लिक गरेर फारम भरेर विश्वविद्यालयलाई जानकारी गराउन सक्नेछन् ।
२७ र २८ गते विद्यार्थीलाई धुलिखेलस्थित विश्वविद्यालयको मुख्य प्रवेशद्वारबाट बिहान ६:३० बजे बस छुट्नेछ । काठमाडौँ उपत्यका बाहिर जाने विद्यार्थीको हकमा विद्यार्थी कल्याण निर्देशनालयसँग समन्वय गरी नाम दर्ता गर्नुपर्नेछ ।
विश्वविद्यालयका अनुसार, अन्तिम मिति राखी प्रकाशित भएका भर्ना, छात्रवृत्ति र विज्ञापनसम्बन्धी सूचनाको हकमा कार्यालय सुरु भएपछि एक हप्ताको समयावधि राखी सूचना पुनः प्रकाशित गरिनेछ ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १२:३९
