युवा आन्दोलन भड्काएर हामीमाथि आक्रमण गरियो, पुनर्निर्माण गरेर अझ बलियो भएर उठ्नेछौं- सीजी
भदौ २७, २०८२ १४:५५
काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले २४ भदाैमा आफ्ना कार्यालय र कारखानामा भएको आक्रमण, लुटपाट र हिंसाको कडा शब्दमा भर्त्सना गरेको छ । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यस घटनालाई कम्पनीको इतिहासमै सबैभन्दा पीडादायी क्षणको संज्ञा दिए ।
‘सीजी परिवार’लाई सम्बोधन गर्दै चौधरीले युवाहरूको जवाफदेहिता र परिवर्तनको मागबाट सुरु भएको आन्दोलनलाई गुण्डा र बाहिरी शक्तिहरूले घुसपैठ गरी तोडमोड गरेको आरोप लगाएका छन् ।
शान्तिपूर्ण रूपमा उत्तम नेपालको लागि आह्वान गरिनुपर्ने आन्दोलनलाई हिंसा, लुटपाट र विनाशमा परिणत गरिएको उनको ठहर छ । उनले घटनाका क्रममा चौधरी ग्रुपका अध्यक्ष (विनोद चौधरी)लाई व्यक्तिगत रूपमा लक्षित गरिएको, पारिवारिक घरहरूमा आक्रमण गरी जलाइएको, कारखाना र कार्यालयहरूमा क्षति पुर्याइएको र शोरुमहरू लुटिएको बताएका छन् ।
आफूहरूको दशकौंको काम, त्याग र प्रतिबद्धता केही छिनमै आगोमा परिणत भएको भन्दै उनले यसलाई सम्पत्तिमाथिको मात्र नभई आशा, विश्वास र राष्ट्रका लागि केही अर्थपूर्ण निर्माण गर्ने विचारमाथिको आक्रमण भनेका छन् ।
यद्यपि, यस संकटको घडीमा कम्पनी नेतृत्व, प्रबन्धकहरू र कर्मचारीहरूले आफ्नो सुरक्षा जोखिममा राखेर काम गरेकोमा उनले प्रशंसा गरेका छन् । चौधरीले आगलागीका बाबजुद पनि कर्मचारीहरूले ‘जे सकिन्छ, त्यसको उद्धार गर्न, कम्पनीका सम्पत्तिहरू जोगाउन र सबैभन्दा महत्त्वपूर्ण, ग्राहकहरूप्रति सीजीको वाचालाई जीवित राख्न’ दिनरात काम गरेको उल्लेख गरेका छन् । उनले कर्मचारीहरूको वफादारी र साहसको प्रशंसा गर्दै उनीहरू सीजी परिवारको मुटु भएको बताए ।
कम्पनी घाइते र हल्लिए पनि नभाँचिएको भन्दै उनले लेखेका छन्, “ती दुराचारीहरूले हाम्रा भवनहरू जलाउन सक्छन्, तर हाम्रा सपनाहरू जलाउन सक्दैनन् । उनीहरूले हाम्रा शोरुमहरू लुट्न सक्छन्, तर हाम्रा मूल्यमान्यताहरू लुट्न सक्दैनन् । उनीहरूले हामीलाई कमजोर बनाउने प्रयास गर्न सक्छन्, तर हाम्रो परिवारको एकता तोड्न सक्दैनन् ।”
उनले चौधरी ग्रुप नेपालको सबैभन्दा ठुलो करदाता, सबैभन्दा ठुलो रोजगारदातामध्ये एक र नेसन बिल्डर (राष्ट्र निर्माता) भएको स्मरण गराएका छन् । भूकम्प, बाढी वा महामारी जस्ता हरेक संकटमा कम्पनी जनताका लागि अग्रपंक्तिमा उभिएको चौधरीले सुनाए । उनले ‘त्यो मिसन समाप्त नभएको, त्यो जिम्मेवारी नडगमगाएको र त्यो उद्देश्य नहराएको’ उल्लेख गरे ।
प्रबन्ध निर्देशक चौधरीले दृढताका साथ आफूहरू पुनर्निर्माण, पुनरुत्थान र पहिलेभन्दा बलियो भएर उठ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस त्रासदीबाट नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपाली जनताप्रति अझ गहिरो प्रतिबद्धता सहितको नवीकरण हुने विश्वास उनले व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १४:५५
