एप्पलका नयाँ स्मार्टवाचः सिरिज ११, अल्ट्रा ३ र एसई ३ (फिचर र मूल्यसहितको जानकारी)
भदौ २९, २०८२ १४:४८
काठमाडौँ । एप्पलले ९ सेप्टेम्बर, २०२५ मा आफ्नो बहुप्रतीक्षित स्मार्टवाच लाइनअप सार्वजनिक गरेको छ । जसमा एप्पल वाच सिरिज ११, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई ३ मोडेलहरू रहेका छन् ।
यी नयाँ स्मार्टवाचहरूमा स्वास्थ्य, फिटनेस, कनेक्टिभिटी र टिकाउपनमा महत्त्वपूर्ण सुधार देख्न सकिन्छ । यी स्मार्टवाचका लागि ९ सेप्टेम्बरदेखि प्रि-अर्डर सुरु भइसकेको छ भने १९ सेप्टेम्बरदेखि उपलब्ध गराइनेछ ।
नयाँ सफ्टवेयर वाचओएस २६ यही १५ सेप्टेम्बरदेखि एप्पल वाच सिरिज ६ वा सोभन्दा पछिल्ला, एप्पल वाच एसई (दोस्रो पुस्ता) वा सोभन्दा पछिल्ला, र सबै एप्पल वाच अल्ट्रा मोडेलहरूका लागि उपलब्ध हुनेछ ।
एप्पल वाच सिरिज ११
एप्पल वाच सिरिज ११ स्वास्थ्य सुविधा, लामो ब्याट्री लाइफ र सुधारिएको टिकाउपनका साथ आएको छ । यसको मूल्य ३९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।
यसले उच्च रक्तचाप (Hypertension) को सङ्केत पत्ता लगाउने सूचना (Hypertension Notifications) प्रदान गर्दछ, जसले अप्टिकल हर्ट सेन्सरको डेटा प्रयोग गरी प्रयोगकर्ताको रक्तनलीले मुटुको धड्कनमा कसरी प्रतिक्रिया दिन्छ भन्ने विश्लेषण गर्छ । यो सुविधाका लागि ३० दिन अवधिको डेटा विश्लेषण गर्नेगरी विकसित गरिएको छ ।
एप्पल वाच सिरिज ११ मा समावेश स्लिप स्कोर नामक नयाँ सुविधाले प्रयोगकर्तालाई उनीहरूको निद्राको गुणस्तर बुझ्न र यसलाई थप प्रभावकारी बनाउन मद्दत गर्छ । निद्राको अवधि, सुत्ने समयको निरन्तरता, कति पटक ब्युँझिन्छ र प्रत्येक निद्राको चरणमा कति समय बिताइन्छ भन्ने जस्ता विवरणहरू यसमा समावेश हुन्छन् ।
यसको एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित वर्कआउट बडी (Workout Buddy) नामक एक नयाँ फिटनेस अनुभवले प्रयोगकर्ताको वर्कआउट डेटा र फिटनेस इतिहासको विश्लेषण गरी उनीहरूलाई सेसनभर व्यक्तिगत रूपमा प्रेरणा प्रदान गर्छ ।
एप्पल वाच सिरिज ११ ले २४ घण्टासम्मको ब्याट्री लाइफ प्रदान गर्दछ । यसमा फास्ट चार्जिङ सुविधा पनि छ, जसले १५ मिनेटको चार्जमा ८ घण्टासम्मको ब्याट्री लाइफ दिन्छ । यसको आयोन-एक्स ग्लास डिस्प्ले अघिल्लो पुस्ताको तुलनामा २ गुणा बढी स्क्र्याच-प्रतिरोधी छ । टाइटेनियम मोडेलहरूमा भने स्याफायर फ्रन्ट क्रिस्टल प्रयोग गरिएको छ ।
कनेक्टिभिटीको कुरा गर्नुपर्दा यसमा फाइभजी सेलुलर क्षमता छ । जसले सङ्गीत, पोडकास्ट र एपहरू छिटो डाउनलोड गर्न मद्दत गर्छ । कमजोर कभरेज भएका क्षेत्रहरूमा रिसेप्सन सुधार गर्न यसमा रि:डिजाइन गरिएको सेलुलर एन्टेना पनि छ ।
एप्पल वाच सिरिज ११ पातलो र आरामदायी डिजाइनमा ४२ एमएम र ४६ एमएम आकारमा उपलब्ध छ । आल्मुनियम केससहित नयाँ स्पेस ग्रे, जेट ब्ल्याक, रोज गोल्ड र सिल्भर रङ्गहरूमा यो स्मार्ट उपलब्ध हुनेछ । जबकि पालिस गरिएको टाइटेनियम नेचुरल, गोल्ड र स्लेट रङ्गहरूमा पाइनेछ ।
वाचओएस २६ फिचरको रूपमा लिक्विड ग्लास सफ्टवेयर डिजाइनका साथ फ्लो र एक्जाक्टोग्राफ (Exactograph) नामक दुई नयाँ वाच फेस पाउन सकिन्छ । यसमा नोटिफिकेसन क्लियर गर्न, टाइमर रोक्न वा अलार्म बन्द गर्नका लागि एक-हाते रिस्ट फ्लिक गेस्चर (wrist flick gesture) पनि छ । एप्पल इन्टेलिजेन्सको साथमा मेसेजमा लाइभ ट्रान्सलेसन, नोट्स एप, होल्ड असिस्ट र कल स्क्रिनिङ जस्ता सुविधाहरू पनि समावेश छन् ।
एप्पल वाच अल्ट्रा ३
एप्पल वाच अल्ट्रा ३ खेलकुद र साहसिक गतिविधिहरूलाई लक्षित गरी ल्याइएको स्मार्टवाच हो । जसमा स्याटलाइट सञ्चार, अहिलेसम्मकै सबैभन्दा ठुलो डिस्प्ले, ४२ घण्टाको ब्याट्री लाइफ र शक्तिशाली स्वास्थ्य सम्बन्धी फिचरहरू छन् । यसको मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ ।
यसमा उच्च रक्तचापको सूचना र स्लिप स्कोर (सिरिज ११ जस्तै), साथै वर्कआउट बडी (एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित) जस्ता सुविधाहरू छन् ।
एप्पल वाच अल्ट्रा ३ मा अहिलेसम्मकै सबैभन्दा ठुलो एप्पल वाच डिस्प्ले छ, जसको रिजोल्युसन ४२२ x ५१४ पिक्सेल छ । जुन अल्ट्रा २ को ४१० x ५०२ पिक्सेलभन्दा बढी हो । यसको LTPO3 र वाइड-एङ्गल ओएलईडी (OLED) डिस्प्ले प्रविधिले बेजलको चौडाइ २४ प्रतिशत पातलो बनाएको छ, जसले वाचको समग्र आकार नबढाई सक्रिय स्क्रिन क्षेत्र बढाउँछ । १ हर्जको अलवेज-अन रिफ्रेश रेटले वाच फेसहरूमा निरन्तर चल्ने सेकेन्ड ह्यान्ड देखाउन सम्भव बनाउँछ ।
दैनिक प्रयोगका लागि यसमा ४२ घण्टासम्मको ब्याट्री लाइफ पाउन सकिनेछ र यो कम पावर मोडमा ७२ घण्टासम्म टिक्छ । निरन्तर बाहिरी वर्कआउट ट्र्याकिङका लागि यसले पूर्ण रूपमा जीपीएस र मुटुको धड्कन रिडिङसहित कम पावर मोडमा २० घण्टाको ब्याट्री जीवन दिन्छ । फास्ट चार्जिङ सुविधाले गर्दा १५ मिनेटमा १२ घण्टासम्मको ब्याट्री लाइफ प्राप्त गर्न सकिन्छ ।
कनेक्टिभिटी र सुरक्षाको कुरा गर्नुपर्दा एप्पल वाच अल्ट्रा ३ मा इन-बिल्ट टु-वे स्याटेलाइट कम्युनिकेसन सुविधा छ । यसले सेलुलर वा वाई-फाई कभरेज नभएको बेला आपत्कालीन सेवाहरूमा टेक्स्ट गर्न, साथीभाइ र परिवारलाई सन्देश पठाउन र लोकेसन शेयर गर्न मद्दत गर्छ । स्याटेलाइट मार्फतको इमर्जेन्सी एसओएस २ वर्षका लागि निःशुल्क उपलब्ध छ । यसमा फाइभजी सेलुलर क्षमता र स्पोर्ट्स वाचहरूमा सबैभन्दा सटीक जीपीएस पनि छ।
यो स्मार्टवाच डब्लूआर १०० वाटर रेसिस्टेन्स रेटिङका साथ आउँछ । जसले ४० मिटरसम्म मनोरञ्जनात्मक स्कुबा डाइभिङका लागि यसलाई उपयुक्त बनाउँछ । यो प्राकृतिक वा कालो टाइटेनियममा उपलब्ध छ । धावक, साइकल यात्री, पौडीबाज, हाइकर, गोताखोर र गल्फरहरूका लागि विशेष एड्भान्स फिटनेस सुविधाहरू पनि यसमा समावेश छन् ।
एप्पल वाच एसई ३
एप्पल वाच एसई ३ मा उत्कृष्ट मूल्यमा एड्भान्स स्वास्थ्य क्षमताहरू, अलवेज-अन डिस्प्ले, फास्ट चार्जिङ लगायतका विभिन्न सुविधाहरू रहेका छन् । यसको मूल्य २४९ अमेरिकी डलरबाट सुरु हुन्छ ।
यसमा स्लिप स्कोर, नाडीको तापक्रम सेन्सिङ, महिनावारी चक्रको अनुमान र स्लिप एपनिया नोटिफिकेसन (Sleep Apnea Notifications) जस्ता सुविधाहरू पनि छन् । मुटुको स्वास्थ्य सूचना, साइकल ट्र्याकिङ, र कार्डियो फिटनेस जस्ता मुख्य स्वास्थ्य सुविधाहरू पनि यसमा पाउन सकिन्छ ।
यसमा फल डिटेक्शन (Fall Detection), क्र्याश डिटेक्सन, इमर्जेन्सी एसओएस र चेक इन जस्ता सुरक्षा सुविधाहरू पनि छन् । एप्पल वाच एसई ३ मा पहिलो पटक अलवेज-अन डिस्प्ले छ। यसको कभर ग्लास अघिल्लो पुस्ताको तुलनामा ४ गुणा बढी क्र्याक प्रतिरोधी छ ।
१८ घण्टाको ब्याट्री लाइफ प्रदान गर्ने यो स्मार्टवाचमा फास्ट चार्जिङ सुविधा समावेश गरिएको छ । जुन यो मोडेलमा पहिलो पटक आएको हो । यो १५ मिनेटको चार्जमा ८ घण्टासम्मको ब्याट्री लाइफ र ४५ मिनेटमा लगभग ८० प्रतिशत चार्ज हुन्छ ।
कनेक्टिभिटीको मामिलामा यसमा फाइभजी सेलुलर क्षमता छ, जसले कम ब्याट्री खपत गर्छ । यसमा S10 चिप प्रयोग गरिएको छ, जुन सिरिज ११ र अल्ट्रा ३ मा पनि पाइन्छ । S10 चिपले अन-डिभाइस सिरी (On-Device Siri), डबल ट्याप (Double Tap) र रिस्ट फ्लिक जेस्चर (Wrist Flick Gesture) जस्ता सुविधा सम्भव बनाउँछ ।
यसको सहयोगमा प्रयोगकर्ताहरूले सङ्गीत वा पोडकास्ट सिधै स्पिकरमा बजाउन सक्छन् । फोन वा फेसटाइम कलका लागि भोइस आइसोलेसन सुविधाले ब्याकग्राउन्ड आवाज हटाउँछ ।
यसले आफ्नै आईफोन नभएका बच्चाहरूका लागि कनेक्टिभिटी, फिटनेस, स्वास्थ्य र सुरक्षा सुविधाहरू प्रदान गर्छ ।
यो स्मार्टवाच ४० एमएम र ४४ एमएम आकारमा मिडनाइट र स्टारलाइट आल्मुनियम केसहरूमा उपलब्ध छ ।
यी सबै स्मार्टवाचहरू वाचओएस २६ सहित आउँछन् । जसमा लिक्विड ग्लास, फ्लो र एक्जाक्टोग्राफ नामक नयाँ वाच फेस, रिस्ट फ्लिक जेस्चर, स्मार्ट स्ट्याक हिन्टस्ला, इभ ट्रान्सलेसन जस्ता फिचरहरू रहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १६:४४
