‘हामी नेपाल’लाई आर्थिक सहयोग गरेको प्रचार भ्रामक र अनर्गल हो : बारबरा फाउन्डेसन
भदौ २९, २०८२ १६:२८
काठमाडौँ । बारबरा फाउन्डेसनले हालैका दिनमा सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा ‘हामी नेपाल’ नामक संस्थालाई आर्थिक सहयोग गरेको भनी फैलाइएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फाउन्डेसनले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रचारलाई भ्रामक र अनर्गल भन्दै ‘हामी नेपाल’सँग आफ्नो कुनै पनि आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारेको हो ।
“देशको पछिल्लो संवेदनशील र तरल अवस्थाको फाइदा उठाउँदै भ्रामक समाचार बनाई हाम्रो नामसमेत जोडी गरिएको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
फाउन्डेसनले कोभिड महामारीका बेला ‘हामी नेपाल’ देशभर फैलिएको युवाको सञ्जाल भएकाले सहकार्य गरिएको तर उक्त संस्था वा त्यसका कुनै पदाधिकारीसँग आफ्नो कुनै प्रकारको आर्थिक सम्बन्ध नरहेको प्रष्ट पारेको छ ।
आफ्नो संस्थाबारे प्रष्ट्याउँदै फाउन्डेसनले आफू एक गैरनाफामूलक सामाजिक संस्था भएको र अमेरिकी नागरिक बारबरा एडम्सको व्यक्तिगत सम्पत्तिबाट स्थापित भएको जानकारी दिएको छ । नेपाललाई कर्मक्षेत्र बनाएर नेपाली नागरिककै रूपमा देहत्याग गरेकी एडम्सको इच्छाअनुसार नै नेपाली नागरिकको सेवामा संस्था समर्पित रहेको बताइएको छ ।
आफ्नो आर्थिक पारदर्शीता प्रस्तुत गर्दै फाउन्डेसनले हालसम्म स्वर्गीय एडम्सको सम्पत्तिबाट करिब दुई करोड ८८ लाख र नेपाली दाता तथा ब्याज आम्दानी समेतबाट गरी कुल ७ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको जनाएको छ । हालसम्म विभिन्न कार्यक्रम तथा प्रशासनिक कार्यमा ३ करोड ६४ लाख खर्च भई बैंकमा ३ करोड ९५ लाख रुपैयाँ मौज्दात रहेको पनि फाउन्डेसनले जानकारी दिएको छ ।
संस्थाको मुख्य उद्देश्य खोज पत्रकारिता पुरस्कार, वातावरण, संस्कृति तथा सम्पदा संरक्षणमा फेलोसिप प्रदान गर्नु र टक सिरिज सञ्चालन गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ । देशको विषम परिस्थितिमा मूल मुद्दाबाट आम सर्वसाधारणलाई भड्काउने मनसायले आफ्नो चरित्र हत्या नगर्न संस्थाले अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १७:२
