‘झापामा मेयरको घरमा ८० किलो सुन भेटियो’ भन्ने युट्युबर सुजन ढकालले हटाए सबै भिडिओ
भदौ २९, २०८२ १६:४७
काठमाडौँ । युट्युबर सुजन ढकालले जेन-जी प्रदर्शनसँग सम्बन्धित आफ्ना सबै भिडिओ फेसबुकबाट हटाएका छन् । २३ र २४ भदौमा भएको प्रदर्शनका विषयमा युट्युबर ढकालले आफ्ना सामाजिक सञ्जाल अकाउन्टमा विभिन्न भिडिओ पोस्ट गरेका थिए ।
प्रदर्शनकै क्रममा २४ भदौमा उनले झापाका एक मेयरको घरमा दुई बोरा सुन भेटिएको दाबी गर्दै भिडिओ बनाएका थिए । उनले भनेका थिए, “एकदमै ब्रेकिङ न्युज छ है ! झापाबाट, जुन केपी शर्मा ओलीको क्षेत्र हो, त्यहाँ कन्काईमाईको मेयरको घरबाट थप दुई बोरा सुन पनि भेटिएको छ ।”
उनले आफ्नो भनाइलाई थप जोड दिँदै भनेका थिए, “हो, यो सबै कालो धन अब खोज्नुपर्छ । खोज्नुपर्ने बेला आएको छ । अघि पनि ८० केजी सुन भेटिएको थियो, फेरि अहिले दुई बोरा सुन तिनै मेयरको घरबाट फेला परेको छ है ।”
झापाका स्थानीय बासिन्दासमेत रहेका उनी प्रदर्शनका क्रममा झापामै थिए । तर, उनले कुनै प्रमाणबिना नै सुन भेटिएको भन्दै भिडिओ बनाएका थिए । नौ लाखभन्दा बढी फलोअर भएको फेसबुक र दुई लाखभन्दा बढी फलोअर भएको टिकटकमा उनले उक्त भिडिओ राखेका थिए ।
उनले फेसबुकबाट प्रदर्शनसँग सम्बन्धित सबै भिडिओ हटाए पनि टिकटकमा भने केही भिडिओ यथावत् राखेका छन् । यद्यपि, मेयरको घरमा सुन भेटिएको भनिएको विवादास्पद भिडिओ उनको टिकटकबाट पनि हटाइएको छ ।
युट्युबर ढकाल र अर्का युट्युबर भाग्य न्यौपाने प्रदर्शनका क्रममा एकसाथ देखिएका थिए । भिडलाई उक्साउने किसिमका भिडिओ बारम्बार राखिरहेका दुवै युट्युबरले अवस्था सामान्य बन्दै गएपछि भिडिओ हटाउन थालेका हुन् । यसअघि युट्युबर न्यौपानेले नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकालेर प्रधानमन्त्री बनाउनुपर्ने भन्दै उक्साएका थिए । उक्त भिडिओ पनि न्यौपानेले हटाइसकेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १६:४७
