नियमित काम कारबाहीमा फर्कन हामीलाई कठिन भइरहेको छः प्रहरी महानिरीक्षक खापुङ
भदौ २९, २०८२ १७:३
काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले हालैका घटनाक्रमले प्रहरीका भौतिक संरचनामा ठुलो क्षति पुगेकाले नियमित काम कारबाहीमा फर्कन कठिन भइरहेको बताएका छन् । आइतबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै उनले यस विषम परिस्थितिमा आम नागरिकबाट प्राप्त स्वःस्फूर्त सहयोग र सद्भावको प्रशंसा गरे ।
महानिरीक्षक खापुङले हालैका घटनाले मुलुकलाई कल्पनीय र अपूरणीय क्षति पुर्याएको र त्यसबाट नेपाल प्रहरी सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे । “हाम्रा प्रहरी कार्यालय जलेर ध्वस्त भएका छन् । सवारी साधन, पोसाक लगायत धेरै सामग्री जलेका छन्, हराएका छन्, जसका कारण नियमित काम कारबाहीमा फर्कन हामीलाई कठिनाइ भइरहेको छ,” उनले भने ।
यस्तो संकटको घडीमा आम समुदायले स्वःस्फूर्त रूपमा प्रहरीलाई कार्यालयमा फर्काउन अभियान चलाएकोमा उहाँले आभार व्यक्त गरे । “यस विषम घडीमा आम समुदायले जसरी प्रहरीलाई कार्यालयमा फर्काउने अभियान थाल्नुभएको छ, यो कार्य ज्यादै प्रशंसनीय छ । यहाँहरुले दर्साउनु भएको अपनत्वले मलाई ज्यादै भावुक बनाएको छ,” महानिरीक्षक खापुङले भने ।
प्रहरीलाई विस्थापित गराउन खोज्नेहरू अपराधी मात्र हुन् भन्ने यस घटनाले झनै स्पष्ट पारेको उनले सुनाए । प्रहरी महानिरीक्षक खापुङले भत्किएका पर्खाल र जलेका सामग्री हटाउन नागरिकले गरेको सहयोगको प्रशंसा गर्दै समाजमा ‘प्रहरी हाम्रा लागि हो’ भन्ने भावना पुनर्जागृत गराएकोमा धन्यवाद व्यक्त गरे ।
भिडिओ सन्देश उनले पूर्व प्रहरी, स्थानीय नागरिक, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट निरन्तर रचनात्मक सहयोगको अपेक्षा गरेका छन् । साथै, संकटको यस घडीमा आपसी वैमनस्यता र बदलाभावलाई त्यागेर मुलुकमा शान्ति सुरक्षा कायम गर्न सबैलाई एकता, सहृदयता र भ्रातृत्व भावका साथ अघि बढ्न आग्रह गरे ।
२३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न सहरमा जेन-जी पुस्ताले प्रदर्शन गर्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार तथा अनियमितता, नेताका सन्तानको विलासी जीवनशैली र देशमा व्याप्त बेथितिको विरोधमा उक्त प्रदर्शन केन्द्रित थियो ।
प्रदर्शनको पहिलो दिन प्रदर्शनकारी मारिएका थिए भने दोस्रो दिन प्रदर्शनकारी र प्रहरी दुवैतर्फ मानवीय क्षति भएको थियो । यस क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको थियो । खासगरी प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । कार्यालयबाट लुटिएका प्रहरी पोसाक, सञ्चार सेट लगायतका उपकरण प्रदर्शन गर्दै प्रदर्शनकारीले बनाएका भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् ।
पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १७:४
