आईफोन १७ प्रो र एयर सजिलै स्क्र्याच हुने समस्या, प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने
असोज ४, २०८२ १४:४६
काठमाडौँ । एप्पलको नयाँ आईफोन १७ प्रो र आईफोन एयर सिरिजमा एउटा अनौठो समस्या देखिएको छ । यी नयाँ मोडेलको पछाडिपट्टिको भागमा सामान्य प्रयोगमा पनि सजिलै कोतरिने (स्क्र्याच) समस्या आएको हो ।
शुक्रबार ब्लुमबर्गले एक रिपोर्ट सार्वजनिक गर्दै यसबारे खुलासा गरेको छ । रिपोर्टअनुसार आईफोन १७ प्रो र प्रो म्याक्सको ‘डिप ब्लु’ र आईफोन एयरको ‘स्पेस ब्ल्याक’ कलर भेरियन्टमा समस्या देखिएको छ । यद्यपि यी फोन कसरी प्रयोग गरिएको थियो वा समस्या कति सामान्य हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।
Can't believe the iPhone 17 Pro demo units in stores are already scratched up. Didn't take long at all. 🤔 pic.twitter.com/0qxSD25lit
— Safari✈️ (@update4weekly) September 18, 2025
एप्पलका लागि सबैभन्दा ठुलो बजार रहेको चीनका ग्राहकले सामाजिक सञ्जालहरूमा नयाँ मोडेल सजिलै स्क्र्याच भएको जस्तो देखिनेगरी फोटो/भिडिओ सार्वजनिक गरिरहेका छन् । सामाजिक सञ्जाल विबोमा शुक्रबार साँझ नयाँ आईफोन सजिलै स्क्र्याच हुने समस्याको टपिक ट्रेन्डिङमै परेको थियो । त्यस्तै प्रयोगकर्ताले एक्समा पनि पोस्ट राख्दै यो समस्याको गुनासो राखेका थिए ।
विश्लेषकले यसको कारण फोन निर्माणमा प्रयोग भएको सामग्री हुनसक्ने बताएका छन् । आईफोन १७ प्रो मोडेलमा अल्मुनियमको फ्रेम र पछाडि सिसाजस्तै देखिने ‘सेरामिक शिल्ड’ प्रयोग गरिएको छ । यसअघिको आईफोन १६ प्रो मोडेलमा भने टाइटेनियम फ्रेम थियो ।
Demo unit iPhone 17 Pro scratches on day 1… (it’s not even 24 hours yet)
— Bradley (@VerdeSelvans) September 19, 2025
Use a case immediately if you don’t wait to experience this kind of issue. I’m very disappointed with the quality here pic.twitter.com/zRjIQrl3zA
टाइटेनियम अल्मुनियमभन्दा कडा र बलियो हुने भएकाले आईफोन १७ प्रो स्क्र्याचप्रति बढी संवेदनशील भएको हुनसक्ने अनुमान छ । त्यस्तै आईफोन एयरमा टाइटेनियम फ्रेम र सेरामिक शिल्ड ब्याक भएपनि यसको ‘स्पेस ब्ल्याक’ कलर भेरियन्टमा स्क्र्याच समस्या देखिएका छन् ।
एप्पल स्टोरमा राखिएका डिस्प्ले मोडेलमा पनि सजिलै स्क्रयाच भएका छन् । ग्राहकले आफ्नो व्यक्तिगत फोन जसरी डिस्प्ले मोडेललाई सावधानी नअपनाउने हुँदा यस्तो भएको हुनसक्ने बताइएको छ । तर, यसले नयाँ आईफोनका प्रयोगकर्तालाई आफ्नो डिभाइस प्रयोग गर्दा थप सचेत रहन र स्क्र्याचबाट जोगाउन केस प्रयोग गर्नुपर्ने सुझाएको छ ।
पछिल्लो अध्यावधिक: असोज ४, २०८२ १५:०
