close

जेनजी विद्रोहको प्रभावः स्थानीय तहको आर्थिक प्रणाली ‘सूत्र’मा समस्या, देशभरका सरकारी कामकाज प्रभावित

टेकपाना टेकपाना

असोज ७, २०८२ १७:२६

जेनजी विद्रोहको प्रभावः स्थानीय तहको आर्थिक प्रणाली ‘सूत्र’मा समस्या, देशभरका सरकारी कामकाज प्रभावित

काठमाडौँ । देशभरका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापन प्रणाली ‘सूत्र’ (SuTRA) मा समस्या आएको छ । मङ्गलबार एक सूचना जारी गर्दै महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।

कार्यालयको सूचना अनुसार २४ भदौको जेनजी प्रदर्शनका कारण ‘सूत्र प्रणाली’ एक सातासम्म पूर्ण रूपमा बन्द भएको थियो । त्यसपछि उक्त प्रणाली पुनः सञ्चालनमा ल्याउँदा सबै निकायबाट एकैपटक कामको चाप पर्‍यो । यसले गर्दा प्रणाली सुस्त भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रतिवेदन तयारी, लेखापरीक्षणको चटारो तथा स्थानीय तहले दिएको कर छुटको सुविधा लिन सेवाग्राही एकैपटक प्रणालीमा आउँदा अत्यधिक चाप बढेको छ । “प्रणालीको क्षमता सीमित हुँदा एकैपटक सेवा प्रवाह गर्न समस्या भएको छ,” कार्यालयको सूचनामा भनेको छ, “हामीले प्रणालीको क्षमता बढाउने काम गरिरहेका छौं तर चापका कारण प्रणालीलाई थप प्रभावकारी बनाउन केही समय लाग्ने देखिएको छ ।”

कार्यालयले विशेषगरी दिनको ११ बजेदेखि ३ बजेसम्म प्रयोगकर्ताको चाप अत्यधिक हुने हुँदा प्रणाली सुस्त हुनसक्नेबारे सचेत गराएको छ । ‘सूत्र’ महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहको बजेट, लेखा, राजस्व, खर्च लगायतका सम्पूर्ण आर्थिक कारोबारलाई एकीकृत गरी अनलाइनमा अभिलेख राख्न विकास गरेको प्रणाली हो ।

 

 

पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १८:२१