close

फ्याक्टचेक: जेनजी आन्दोलनमा नकाबधारीहरूको बैठक भन्दै भाइरल भएको भिडिओको वास्तविकता के हो ?

टेकपाना टेकपाना

असोज ९, २०८२ १५:५८

फ्याक्टचेक: जेनजी आन्दोलनमा नकाबधारीहरूको बैठक भन्दै भाइरल भएको भिडिओको वास्तविकता के हो ?

काठमाडौँ । बुधबारदेखि सामाजिक सञ्जालमा मास्क र चस्मा लगाएका केही व्यक्तिहरू बैठक हलमा बसेको भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओलाई सामाजिक सञ्जालमा बालेनले राति राति बैठक गरे तथा जेनजी आन्दोलनमा नकाबधारीहरूको सक्रियता बढ्यो भन्ने दाबीसहित भाइरल गराइएको छ ।​

तर टेकपानाले गरेको तथ्यजाँचमा यो भिडिओ हालको नभई सात महिना पुरानो रहेको पुष्टि भएको छ । गत फेब्रुअरीमा भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयबाट नेपाली विद्यार्थीहरूलाई निकालिएपछि उनीहरूले आफ्नो पहिचान गोप्य राख्दै दिएको अन्तर्वार्ता नै हालको भन्दै भ्रामक रूपमा प्रस्तुत गरिएको हो ।

दाबी 

सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता ‘प्रकाश तुम्बापो लिम्बु’ ले बालेनले राति गोप्य वार्ता गरेको भिडिओ भन्दै राखेको पोस्ट फेला पर्‍यो । उक्त भिडिओमा मास्क र चस्मा लगाएका  व्यक्तिहरू देखिन्छन् । भिडिओमा सस्पेन्स खालको अडियो प्रयोग गरिएको छ । २२ सेकेन्ड लामो उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “किन गोप्य मिटिङ गरे बालेन्द्र साहाले त्यो पनि राती राती” । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टले २४ हजार बढी रियाक्सन पाएको छ भने २४ पटक शेयर गरिएको छ । हेर्नुहोस् भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान 

‘प्रकाश तुम्बापो लिम्बु’ले सार्वजनिक गरेको उक्त भिडिओ फेला परेपछि हामीले तथ्यजाँच अघि बढायौँ । यसक्रममा हामीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राति राति बैठक गरेको दाबी सहितका अन्य पोस्टहरू पनि फेला पार्‍यौँ । 

एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले बिहीबार मध्यान्ह १२:५६ मा ​मास्क र चस्मा लगाएका तिनै व्यक्तिहरूको ३३ सेकेन्ड लामो भिडिओ फेसबुकमा राखेका छन् । त्यहाँ केही व्यक्तिहरू बोलिरहेको सुनिन्छ । बस्नेतले उक्त भिडिओको क्याप्सनमा लेखेका छन्, “Gen-Z आन्दोलनमा व्यापक हिंसा र तोडफोड भएको छ। अज्ञात र बाहिरबाट प्रवेश गरिएका समूहले आन्दोलन हाइज्याक गरेको छ। नकाबधारी र परिचय नखुलेका व्यक्तिहरूको सक्रियता सामान्य कुरा होइन ।” हेर्नुहोस्, बस्नेतले राखेको भिडिओआर्काइभ लिङ्क र स्क्रिनशट । 

फेसबुकमा ‘Ramila Nepal’ नामको आईडीबाट बिहीबार बिहान ८:०३ मा जेनजी आन्दोलनमा प्रयोग भएका नकाबधारी को हुन् भन्दै सोही भिडिओ पोस्ट गरिएको छ- “के हो एस्तो?? सत्य तथ्य  पत्ता लगाई छानबिन  हुनुपर्यो । को हुन्  उनीहरु?? jenz को आन्दोलनमा यस्ता नकापधारिहरु परिचालन भएको रहेछ !” हेर्नुहोस् पोस्ट र स्क्रिनशट । 

सोही दाबिसहित राखिएका अन्य भिडिओहरू हेर्न यहाँ, यहाँ, यहाँ, यहाँ यहाँ, यहाँ क्लिक गर्नुहोस् ।

हामीले अनुसन्धानका लागि सबैभन्दा पहिला उक्त भिडिओलाई नियालेर हेर्यौँ । त्यहाँ मास्क लगाएर बसेका व्यक्तिहरूभन्दा अगाडिको टेबलमा दुई ओटा बुम राखिएको छ । त्यसैले उनीहरू केही अन्तर्वार्ता दिइरहेको देखिन्छन् । हामीले इन्भिड टुलको म्याग्निफायर प्रयोग गरेर उक्त बुम कुन मिडियाको हो भनेर खोज्यौँ ।

त्यहाँ हिमालय टिभी र प्राइम एचडी टिभीको बुम देखियो । यसले यो कुनै गोप्य वार्ता नभई अन्तर्वार्ता रहेको आँकलन गर्न सकिन्छ । तर हामीले इन्टरनेटमा ती युवाहरूको अन्तर्वार्ता फेला पार्न सकेनौँ । 

भिडिओको वास्तविकता खोज्दै जाने क्रममा ‘हामी नेपाल’ ले २० फेब्रुअरीको दिउँसो ४ बजे राखेको २६ मिनेट राखेको भिडिओ फेला पर्‍यो । उक्त भिडिओमा भाइरल भिडिओमा देखिएका व्यक्तिहरू नै मास्क र चस्मामा देखिएका छन् । हामी नेपालले राखेको फेसबुक स्टाटसको नेपाली अनुवाद यस्तो छ “हाम्रा विद्यार्थीहरूलाई यसरी कुटपिट गरिएको थियो । केही विद्यार्थीहरू हाम्रो कार्यालयमा आइपुग्नु भयो र आफ्नो सुरक्षा कारणले पहिचान नखुलाई अन्तर्वार्ता दिने निर्णय गर्नुभयो । विद्यार्थीहरूबाट प्राप्त तथ्य अनुसार खासमा यस्तो भएको थियो…।”

उक्त भिडिओ आत्महत्याको विषयमा लिएर सुरु भएको छ । भिडिओको सुरुवातमा मास्क लगाएका एक युवकले भनेका छन्, “चार वा साढे चार बजेतिर सायद सुसाइडको केस भयो । सुसाइड गरेको दिदीको दाइहरूले थाहा पाएर पुलिसमा कम्प्लेन गर्नुभएछ ।” हेर्नुहोस् भिडिओ । 

उक्त भिडिओलाई हाल भाइरल भिडिओसँग दाँजेर हेर्दा यी दुई भिडिओ एउटै रहेको पाइयो । 

‘हामी नेपाल’ले राखेको भिडिओमा १६ फेब्रुअरीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको भारतको ओडिसास्थित केआईआईटी कलेजमा मृत्यु भएपछि भएको अवस्थाको वर्णन गरिएको छ । लम्सालको मृत्युपछि उक्त विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्दै विश्वविद्यालयबाट निकालिदिएको थियो । यस घटनापछि नेपाल आइपुगेका केही विद्यार्थीहरूले आफ्नो सुरक्षामा जोखिम हुनसक्ने भन्दै मास्क लगाएर अन्तर्वार्ता दिएका थिए र केआईआईटीमा भएका घटनाको विस्तृत जानकारी दिएका थिए । उक्त भिडिओलाई हाल जेनजी आन्दोलन र बालेनसँग जोडेर भाइरल बनाइएको देखियो ।

दाबी 

  • बालेनले राति गोप्य बैठक गरे ।

  • जेनजी आन्दोलनमा ‘नकाबधारी बाहिरी तत्व’ छिरे ।

दाबीकर्ता 

‘प्रकाश तुम्बापो लिम्बु’, ‘महेश बस्नेत’, ‘रमिला नेपाल’ लगायत सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य 

  • भाइरल भिडिओ हालको नभइ सात महिना पुरानो हो । भारतको ओडिसामा प्रकृति लम्सालको मृत्युपछि निकालिएका विद्यार्थीहरूले आफ्नो सुरक्षाका लागि भन्दै मास्क र चस्मा लगाएर अन्तर्वार्ता दिएका थिए ।

  • विद्यार्थीहरूले भिडिओमा केआईआईटीमा भएको कुटपिट, दुर्व्यवहार र अन्यायको बारेमा विस्तृत रूपमा बताएका छन् ।

  • उक्त अन्तर्वार्ता ‘हामी नेपाल’ नामक फेसबुक पेजमार्फत २० फेब्रुअरी २०२५ मा सार्वजनिक गरिएको छ । 

  • भिडिओमा देखिएका व्यक्तिहरू केआईआईटी विश्वविद्यालयबाट निकालिएर नेपाल फर्किएका नेपाली विद्यार्थीहरू हुन् ।

  • भिडिओमा हिमालय टिभी र प्राइम टिभी एचडीका बुम पनि देखिन्छ ।

निष्कर्ष

बुधबारदेखि सामाजिक सञ्जालमा “बालेनले राति–राति गोप्य बैठक गरे”, “जेनजी आन्दोलनमा ‘नकाबधारी बाहिरी तत्व छिरे’” लगायतका दाबीसहित सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएका छन् । उक्त दाबी गर्नेमा नेकपा एमाले नेता महेश बस्नेतसहित प्रकाश तुम्बापो लिम्बु, रमिला नेपाललगायत सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । उक्त भिडिओलाई लिएर टेकपानाले तथ्यजाँच गर्दा उक्त भिडिओ सात महिना पहिलाको रहेको पाइएको छ ।

भारतको ओडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि निकालिएका विद्यार्थीहरूले आफ्नो सुरक्षाका लागि भन्दै मास्क र चस्मा लगाएर अन्तर्वार्ता दिएका थिए । विद्यार्थीहरूले भिडिओमा केआईआईटीमा भएको कुटपिट, दुर्व्यवहार र अन्यायको बारेमा विस्तृत रूपमा बताएका छन् । ‘हामी नेपाल’बाट २० फेब्रुअरीमा सार्वजनिक भएको उक्त भिडिओलाई अहिले जेनजी आन्दोलन र बालेनसँग जोड्दै भ्रम फैलाइएको हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ ८:४२