युलेन्स स्कुल व्यवस्थापन समितिबाट आरजुको राजीनामा, १-९ कक्षा सम्मको पढाइ अनलाइनमार्फत
असोज ११, २०८२ १२:९
फाइल तस्बिर
काठमाडौँ । निवर्तमान परराष्ट्रमन्त्री एवम् कांग्रेस नेतृ डा. आरजु राणा देउवाले युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । हालै अभिभावकहरूको भेलामा उनले औपचारिक रूपमा पद छाडेको जानकारी दिइएको हो ।
२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुलमा तोडफोड र आगजनी हुँदा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । सो घटनापछि अभिभावकहरूले राणाको संलग्नतामाथि प्रश्न उठाउँदै पदत्यागको माग गरेका थिए ।
युलेन्स स्कुल एजुकेसन फाउन्डेसनले जारी गरेको वक्तव्यमा राणा विद्यालयको लगानीकर्ता नभई व्यवस्थापन समितिमा मात्र जिम्मेवारी सम्हालेकी व्यक्ति भएको दाबी गरिएको छ । वक्तव्यमा भनिएको छ, “डा. आरजु राणा देउवाको स्वामित्व कहिल्यै थिएन । उनको संलग्नता सामुदायिक विद्यालयका व्यवस्थापन समिति सदस्य सरह मात्र थियो ।”
स्कुलमा भएको आगजनी र तोडफोडबाट करिब एक अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति पुगेको फाउन्डेसनले जनाएको छ ।
यसबिच, विद्यालयले नयाँ मार्गचित्रअनुसार पठनपाठन पुनः सुरु गरिसकेको छ । कक्षा १ देखि ९ सम्म हाल अनलाइनमार्फत कक्षा सञ्चालन भइरहेको छ । कक्षा १०, ११, १२ र आइबी कार्यक्रम भने दसैंपछि भाडामा लिइएका भवनमा प्रत्यक्ष रूपमा (फेस टु फेस) सञ्चालन गर्ने तयारी छ ।
विद्यालयले अन्य विद्यालयमा अस्थायी रूपमा पठाइएका साना कक्षाका विद्यार्थीलाई भने आगामी वर्षदेखि फेरि युलेन्समै भर्ना गरिने प्रतिबद्धता जनाएको छ ।
राणाको राजीनामापछि नयाँ अध्यक्ष दसैंपछि चयन गरिने पनि फाउन्डेसनले उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज ११, २०८२ १२:९
