close

पूरक एसईईको परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

टेकपाना टेकपाना

असोज ११, २०८२ १४:३१

पूरक एसईईको परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० पूरक (ग्रेडवृद्धि) को परीक्षाफल आज प्रकाशित गरेको छ । बोर्डले २९ साउनदेखि ६ भदौसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

कुल एक लाख ४३ हजार २५७ जना परीक्षार्थी सहभागी भएकामा ८३ हजार ५६४ जना परीक्षार्थी ग्रेडेड भएका छन् । ५९ हजार ६९३ जना परीक्षार्थी नन-ग्रेडेड भएका छन् ।

परीक्षार्थीहरूले विभिन्न संस्थाका वेबसाइट, आईभीआर र एसएमएस/युएसएसडी सेवामार्फत नतिजा हेर्न सक्नेछन् । राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np बाट नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकम, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेबसाइटबाट सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी ग्रेडसिट हेर्न र डाउनलोड समेत गर्न सकिने व्यवस्था मिलाइएको छ ।

नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) अनुसार ग्रेडिङ गरिएको हो । जसमा परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । ७५ पूर्णाङ्कको सैद्धान्तिक विषयमा कम्तीमा २७ अङ्क, ५० पूर्णाङ्कको सैद्धान्तिकमा १८ अङ्क, आन्तरिक ५० पूर्णाङ्कमा २० अङ्क र २५ पूर्णाङ्कमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीहरूले पुनर्योग (Re-totalling) गर्न वा उत्तरपुस्तिका पुनः परीक्षण गराउन सक्नेछन् । पुनर्योगका लागि अनलाइन आवेदन गर्न सकिनेछ । परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा गई पुनर्योग फाराम भरी १९ असोजदेखि २९ असोजसम्म आवेदन दिनुपर्नेछ । यदि अनलाइन आवेदनमा कठिनाइ भएमा वा विगतमा नतिजा स्थगित भएका परीक्षार्थीहरूले समेत परीक्षा नियन्त्रण कार्यालयमा सिधै निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

नतिजासम्बन्धी थप जानकारीका लागि ०१-६६३०७३९ र सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३४०१५० मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ । नियमित सूचनाहरूका लागि www.see.gov.np www.neb.gov.np वेबसाइटहरू हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८२ १४:४०