इन्टरनेटमा फैलिएको निराशा र नकारात्मक भावना हटाउन चीनमा दुई महिने विशेष अभियान सुरु
असोज १२, २०८२ १७:२०
सांकेतिक तस्बिर
काठमाडौँ । चीन सरकारले इन्टरनेटमा व्याप्त निराशाजनक र नकारात्मक भावनाहरूलाई नियन्त्रण गर्न दुई महिनाको विशेष अभियान अघि बढाएको छ । चीनको साइबरस्पेस प्रशासनले यो कदम अघि बढाएको हो । यसअन्तर्गत अत्यधिक नकारात्मक र निराशावादी भावनालाई बढाइचढाइ गर्ने सामाजिक सञ्जाल पोस्टहरूमा कारबाही गरिने उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यस अभियानको मुख्य लक्ष्य इन्टरनेटमा फैलिएका नकारात्मक भावनाहरूलाई सच्याउँदै अझ सभ्य, व्यवस्थित र तर्कसंगत अनलाइन वातावरण निर्माण गर्नु हो । अभियान विशेषगरी ‘पढाइको कुनै काम छैन’ वा ‘कडा परिश्रमको कुनै अर्थ छैन’ भन्ने जस्ता कथनहरू र ‘संसारदेखि दिक्क हुने’ जस्ता निराशावादी विषयहरूमा केन्द्रित हुने जनाइएको छ ।
चीनमा पछिल्लो केही वर्षयता आर्थिक मन्दी, बेरोजगारी, कलेज तथा रोजगारमा तीव्र प्रतिस्पर्धा जस्ता चुनौती बढेका छन् । यसकारण युवा पुस्तामा गहिरो निराशा बढेको देखिन्छ । त्यसलाई नियन्त्रण गर्न चीनले इन्फ्लुएन्सर र सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि कडा कारबाही गरेको छ । केही चर्चित व्यक्तिहरूका सामाजिक सञ्जाल पोस्टहरू हटाइएका छन् ।
शिक्षा र सामाजिक मुद्दामा आवाज उठाउँदै आएका चीनका एक प्रसिद्ध अनलाइन ट्युटर झाङ जुफेङले यही सेप्टेम्बर महिनाको सुरुमा, बेइजिङले ताइवानमाथि आक्रमण गर्ने निर्णय गरेमा कम्तीमा १० करोड चिनियाँ युआन सहयोग गर्ने बताएका थिए । उनको उक्त विवादित वक्तव्यसँगै उनी चिनियाँ सेन्सरसिपको निशानामा परेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार, उनका सामाजिक सञ्जाल खातामा नयाँ फलोअर नबढ्ने गरी चीन सरकारले प्रतिबन्ध लगाएको छ ।
चीन सरकारले चालेको यस कदमबारे विज्ञहरूले भने विरोध जनाएका छन् । उनीहरूले यसरी कन्टेन्टमाथि निगरानी र नियन्त्रणले समस्याको मूल कारण हटाउन नसक्ने र यस्तो प्रतिबन्धले युवाहरूको मानसिक स्वास्थ्य अझै कमजोर पार्ने चेतावनी दिएका छन् ।
पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १७:२०
