close

सेवाग्राहीलाई सास्ती दिने यातायात कार्यालयका २ कर्मचारी जिम्मेवारीबाट हटाइए, छानबिन समिति गठन

टेकपाना टेकपाना

असोज १३, २०८२ ११:४६

सेवाग्राहीलाई सास्ती दिने यातायात कार्यालयका २ कर्मचारी जिम्मेवारीबाट हटाइए, छानबिन समिति गठन

काठमाडौँ । सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक दुःख दिने गरेको आरोपमा सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएकाे छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार इटहरीस्थित सवारी परीक्षण कार्यालयका प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई अनियमितताको उजुरीपछि जिम्मेवारीबाट हटाई मन्त्रालय तानेको हो।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्व हिनामिना भएको आशंका समेत गरिएको छ। उक्त कार्यालयमार्फत अन्तरप्रादेशिक सार्वजनिक सवारी साधनलाई बाटो इजाजतपत्र जारी गर्ने, स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका काम हुँदै आएको छ।

अनियमितताको प्रमाणसहितको गुनासो ऊर्जामन्त्री कुलमान घिसिङसम्म पुगेपछि उनले तत्काल दुवैलाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए।

मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

समितिले आरोपित कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, कार्यालयका निर्णय र कागजातहरूको अध्ययन गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश पाएको छ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८२ १५:४२