close

भारी वर्षा हुन थालेसँगै लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी आवतजावत बन्द

टेकपाना टेकपाना

असोज १८, २०८२ १०:२२

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले लामो दूरीका साथै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

एक सूचना जारी गर्दै प्राधिकरणले यसबारे जानकारी दिएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म पूर्वी कोशी प्रदेशदेखि पश्चिम लुम्बिनी प्रदेशसम्म चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यसले बाढी, पहिरो र डुबानजस्ता विपद् जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले पूर्वतयारीस्वरूप यातायात बन्द गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा हस्ताक्षरित सूचनाअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा सञ्चालन हुने लामो दूरीका सवारीसाधन तथा काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

यस अवधिमा यातायात व्यवसायी तथा अन्य सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरिएको छ । साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई सवारीसाधन आवागमन बन्द गर्न, त्यसको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत निर्देशन दिइएको छ ।

प्राधिकरणले यस अवधिमा अत्यावश्यक बाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक तथा अद्यावधिक सूचना/जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत प्राप्त गर्न आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १०:४१