close

साढे २१ हजार रुपैयाँमा भिभोको वाटरप्रुफ स्मार्टफोन सार्वजनिक, केके छन् फिचर ?

टेकपाना टेकपाना

असोज २२, २०८२ १५:३९

साढे २१ हजार रुपैयाँमा भिभोको वाटरप्रुफ स्मार्टफोन सार्वजनिक, केके छन् फिचर ?

काठमाडौँ । नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत नयाँ मोडेल ‘भिभो वाई२१डी’ सार्वजनिक गरेको छ । युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित गरी उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूसहित यो फोन सुलभ मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यो फोन आईपी ६८/६९ डस्ट र वाटर-रेसिस्टेन्ट स्मार्टफोन हो । यसमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर छ, जसले अन्डरवाटर फोटोग्राफी मोडमार्फत पानीमुनिका सुन्दर दृश्यहरू सजिलै कैद गर्ने कम्पनीको भनाइ छ । साथै, वनट्याप वाटर इजेक्सन र वनट्याप डस्ट एन्ड वाटर रिमुभल जस्ता स्मार्ट फिचरले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्ने बताइएको छ ।

भिभो वाई२१डी ले एसजीएस फाइभ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेसनले प्रमाणित गरेको छ । थप सुरक्षाका लागि यसमा एयर-स्प्रिङ्ग फोन केस समेत उपलब्ध छ ।

यसमा ६५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी समावेश छ । जसबाट २१.६ घण्टासम्म निरन्तर युट्युब स्ट्रिमिङको सुविधा लिन सकिन्छ । २०% बाट १००% चार्ज हुन करिब ७५ मिनेट लाग्छ । यस ब्याट्रीले पाँच वर्षपछि पनि ८०% भन्दा बढी क्षमतामा काम गर्ने ग्यारेन्टी प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पर्फर्मेन्सका लागि फोनमा ६ जीबी वा ८ जीबी ऱ्याम र १२८ जीबी स्टोरेज रहेको छ । सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेसन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउने भिभोको विश्वास छ ।

यो स्मार्टफोन कोरल रेड र जेड ग्रीनमा उपलब्ध हुनेछ । फ्ल्यागशिप क्वाड-कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिस र आधुनिक बनाउने दाबी गरिएको छ ।

कम्पनीका अनुसार फोनले ४००% लार्ज भोल्युम डुअल-स्टेरियो स्पिकर सहित सशक्त साउन्ड प्रदान गर्छ । साथै, ६.६ इन्च डट्च डिस्प्ले, १००० निट्स ब्राइटनेस र ९० हर्ज रिफ्रेश रेटमार्फत स्पष्ट र स्मूथ भिजुअल्स अनुभव गर्न सकिन्छ । ब्लू-लाइट सर्टिफिकेसन र आई-प्रोटेक्सन मोड रहेकाले फोनको डिस्प्ले आँखामैत्री रहेको कम्पनीले उल्लेख गरेको छ ।

क्यामेराको कुरा गर्दा यसमा ५० एमपी एचडी मुख्य क्यामेरासहितका एआई फोटो इन्हान्स, मल्टी-स्टाइल पोर्ट्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचर रहेका छन् ।

यो फोन नेपालभरका भिभोका आधिकारिक रिटेल पार्टनरहरू र दराज अनलाइनमा उपलब्ध छ । मूल्य निम्नानुसार निर्धारण गरिएको छ:

  • ६ जिबी + १२८ जिबी: रु. २१,४९९

  • ८ जिबी + १२८ जिबी: रु. २३,४९९

पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १५:५२