close

यातायात सर्भर क्षतिग्रस्त भएपछि ट्राफिक प्रहरीको अनलाइन सेवा बन्द, फेरि चिटमार्फतै कारबाही

टेकपाना टेकपाना

असोज २९, २०८२ १८:२२

यातायात सर्भर क्षतिग्रस्त भएपछि ट्राफिक प्रहरीको अनलाइन सेवा बन्द, फेरि चिटमार्फतै कारबाही

काठमाडौँ । २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग मीनभवनमा रहेको ईडीएलभीआरएस (Electronic Driving License Vehicle Registration System) को सर्भर क्षतिग्रस्त भएपछि ट्राफिक प्रहरीले दिने अनलाइन सेवा रोकिएको छ । 

प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुँदा ईडीएलभीआरएस क्षतिग्रस्त भएपछि ट्राफिक प्रहरीको अनलाइन कारबाही तथा सचेतना कक्षा रोकिन पुगेको हो । 

ट्राफिक प्रहरीले सञ्चालनमा ल्याएको अनलाइन कारबाही (नागरिक एपमा क्यूआर कोड देखाएमा ई-चलानमार्फत ट्राफिक प्रहरीले कारबाही गर्ने) तथा अनलाइन सचेतना कक्षाको एपीआई (Application Program Interface) विभागको प्रणालीसँग आबद्ध थियो । 

सर्भर पुनः सञ्चालनमा नआएसम्म ट्राफिक प्रहरीले अनलाइन कारबाही गर्न नसक्ने जनाएको छ । हालका लागि सवारी चालकले कुनै ट्राफिक नियम उल्लङ्घन गरेमा २४ घण्टे पुर्जी जारी गरिने छ ।

यातायात व्यवस्था विभागले पनि ईडीएलभीआरएस प्रणाली सञ्चालनमा नआएसम्म मौजुदा रेकर्ड वा सम्बन्धित व्यक्तिका कागजातका आधारमा सेवा दिन यातायात कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

जेनजी प्रदर्शनको आडमा यातायात व्यवस्था विभागको कार्यालयमा तोडफोड र आगजनी हुँदा भौतिक संरचना, विद्युतीय प्रणाली र विशेषगरी ईडीएलभीआरएस प्रणालीमा गम्भीर क्षति पुगेको छ । यसबाट विभागबाट प्रवाह हुने सम्पूर्ण अनलाइन सेवा ठप्प छन् ।

 

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १८:४१