ब्ल्याकम्याजिक क्यामेरा एपमा ओपन गेट फिचर, अब एन्ड्रोइड फोनले सिनेमा-ग्रेड भिडिओ खिच्नसक्ने
असोज ३१, २०८२ १६:५३
काठमाडौँ । सामान्यतया महँगा व्यावसायिक मुभी क्यामेरामा मात्र पाइने एक महत्त्वपूर्ण फिचर अब हाई-इन्ड एन्ड्रोइड फोनहरूमा पनि उपलब्ध भएको छ । ब्ल्याकम्याजिक क्यामेरा (Blackmagic Camera) एपको पछिल्लो भर्सन ३.१ (v3.1) को अपडेटसँगै यसले ओपन गेट (open gate) भिडिओ रेकर्डिङलाई सपोर्ट गर्ने भएको हो ।
धेरैजसो एन्ड्रोइड फोनहरूमा हुने स्टक क्यामेरा एपहरू शक्तिशाली भए पनि सामान्यतया स्मार्टफोनहरूले भिडिओ खिच्नका लागि क्यामेराको फुल रेजोलुसन प्रयोग गर्दैनन् । बरु तिनीहरूले १६:९ जस्ता स्ट्यान्डर्ड एस्पेक्ट रेसियो (standard aspect ratios) मा क्रप गरेर भिडिओ खिच्छन् ।
उदाहरणका लागि पिक्सेल १० सिरिजमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा भए पनि पिक्सेल क्यामेरा एपले क्रप गरिएको फोरके १६:९ फुटेज रेकर्ड गर्न सेन्सरको एक भाग मात्र प्रयोग गर्छ ।
तर ओपन गेट रेकर्डिङले पुरा सेन्सर क्षेत्र (full sensor area) प्रयोग गरी भिडिओ खिच्न सक्षम बनाउँछ । यसले गर्दा फुटेजमा अधिक विवरण हुन्छ र पोस्ट-प्रोडक्सनमा रिफ्रेम गर्न वा क्रप गर्न लचिलोपन (flexibility) प्राप्त हुन्छ । यही कारणले गर्दा भिडिओलाई पेसाको रूपमा लिनेहरूका लागि यो ठुलो उपलब्धि मानिएको छ ।
कसरी प्रयोग गर्ने ?
ब्ल्याकम्याजिक क्यामेरालाई भी ३.१ मा अपडेट गरेपछि प्रयोगकर्ताहरूले एपको सेटिङमार्फत रिजोलुसनमा गएर यो सुविधा प्रयोग गर्न सक्छन् । त्यहाँ ४:३ ओपन गेट (4:3 Open Gate) एस्पेक्ट रेसियोको विकल्प देखिनेछ ।
अधिकांश एन्ड्रोइड स्मार्टफोनहरूले ४:३ क्यामेरा सेन्सर प्रयोग गर्ने भएकाले ओपन गेट मोडमा शुट गर्दा यही एस्पेक्ट रेसियो प्रयोग हुन्छ । तर, डिभाइस अनुसार थ्रिके, टुके वा सोभन्दा कम रिजोलुसनमा ओपन गेट आस्पेक्ट रेसियो भिडिओहरू रेकर्ड गर्ने कुरामा भने सीमितता हुन सक्छ ।
परीक्षणका क्रममा ग्यालेक्सी एस २१ अल्ट्रा, साओमी १५ अल्ट्रा, वनप्लस १२, र वनप्लस १३ जस्ता डिभाइसहरूमा फोरके ओपन गेट भिडिओ रेकर्ड गर्न सकिने उल्लेख छ ।
ब्ल्याकम्याजिक क्यामेराको एन्ड्रोइड ३.१ अपडेटमा ओपन गेटसहित अन्य फिचरहरू पनि समावेश छन् । जसमा एस्पेक्ट रेसियो चयन र ओपन गेटको लागि सपोर्टका साथै अडियो सोर्सहरू, फल्स कलर, जेब्रा र लाइभ स्ट्रिम चयन गर्नका लागि फङ्सन बटनहरूको सपोर्ट पनि छ । यो एप निःशुल्क करूपमा उपलब्ध छ ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १६:५३
