अत्यधिक विवाद भएपछि ओपनएआईले रोक्यो मार्टिन लुथर किङको भिडिओ बनाउने सोराको क्षमता
कात्तिक १, २०८२ १०:१७
काठमाडौँ । शब्दकै भरमा आवाज सहितको भिडिओ बनाउने एआई टुल सोरामाथि विवाद चुलिएपछि यसको निर्माता कम्पनी ओपनएआईले एक महत्त्वपूर्ण कदम चालेको छ । कम्पनीले आफ्नो एआई भिडिओ मोडल ‘सोरा’ प्रयोग गरी स्वर्गीय नागरिक अधिकारकर्मी मार्टिन लुथर किङ जुनियरको भिडिओ बनाउन मिल्ने सुविधामाथि रोक लगाएको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै ओपनएआईले डा. किङको परिवारको अनुरोधमा यो सुरक्षा उपाय अपनाइएको जनाएको छ । सोराका केही प्रयोगकर्ताले डा. किङको छविको ‘अपमानजनक चित्रण’ गरेर भिडिओ बनाएपछि परिवारले यस्तो आग्रह गरेको थियो ।
ओपनएआईले आफ्नो आधिकारिक ‘एक्स’ खातामा लेखेको छ, “ऐतिहासिक व्यक्तित्वको चित्रणमा वाक स्वतन्त्रताको बलियो चासो भए पनि सार्वजनिक व्यक्तित्व र उनीहरूका परिवारलाई आफ्नो छवि कसरी प्रयोग गर्ने भन्ने विषयमा अन्तिम नियन्त्रण हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।” कम्पनीले आधिकारिक प्रतिनिधि वा परिवारका सदस्यले आफ्नो छविलाई सोरामा प्रयोग नगर्न अनुरोध गर्न सक्ने व्यवस्था मिलाइएको पनि स्पष्ट पारेको छ ।
Statement from OpenAI and King Estate, Inc.
— OpenAI Newsroom (@OpenAINewsroom) October 17, 2025
The Estate of Martin Luther King, Jr., Inc. (King, Inc.) and OpenAI have worked together to address how Dr. Martin Luther King Jr.’s likeness is represented in Sora generations. Some users generated disrespectful depictions of Dr.…
ओपनएआईले आफ्नो भिडिओ प्लेटफर्म सोरा सार्वजनिक गरेको केही हप्तापछि यस्तो प्रतिबन्ध लगाइएको हो । सोराले प्रयोगकर्तालाई ऐतिहासिक व्यक्तित्व, साथीभाइ वा अन्य व्यक्तिको यथार्थपरक एआई-सिर्जित भिडिओ बनाउने सुविधा दिन्छ । यो प्लेटफर्म सार्वजनिक भएसँगै एआई-सिर्जित भिडिओको खतरा र यसमा अपनाउनुपर्ने सुरक्षा उपायबारे विश्वव्यापी बहस सुरु भएको छ ।
गत हप्ता डा. किङकी छोरी डा. बर्निस किङले इन्स्टाग्राममार्फत आफ्ना बुबाको एआई-सिर्जित भिडिओ पठाउन बन्द गर्न सबैसँग आग्रह गरेकी थिइन् । उनीभन्दा अघि दिवंगत अभिनेता रोबिन विलियम्सकी छोरीले पनि सोरा प्रयोगकर्तालाई आफ्नो बुबाको एआई भिडिओ नबनाउन अनुरोध गरेकी थिइन् ।
‘द वासिङ्टन पोस्ट’ले हालै एक रिपोर्टमा सोरा प्रयोगकर्ताले डा. किङले बाँदरको जस्तो आवाज निकालेको र अर्का नागरिक अधिकारकर्मी म्याल्कम एक्ससँग कुस्ती खेलेको जस्ता आपत्तिजनक भिडिओ बनाएको खुलासा गरेको थियो । सोरा एपमा कलाकार बब रस, गायिका ह्विटनी ह्युस्टन र पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडी जस्ता अन्य ऐतिहासिक व्यक्तित्वको भद्दा भिडिओ पनि सजिलै भेटिन्छन् ।
यसका साथै सोराले प्रतिलिपि अधिकार भएका सामग्री बनाउँदा उत्पन्न हुने कानुनी प्रश्न पनि उठाएको छ । सोरामा प्रतिबन्ध थप्दै गर्दा ओपनएआईले आफ्नो अर्को उत्पादन च्याटजीपीटीमा भने सामग्रीलाई केही खुकुलो बनाउने संकेत दिएको छ । कम्पनीले हालै वयस्क प्रयोगकर्ताका लागि च्याटजीपीटीसँग ‘यौनिक’ कुराकानी गर्न अनुमति दिने घोषणा गरेको छ ।
ओपनएआईका सीईओ साम अल्टम्यानले सोरा सार्वजनिक गर्दा कम्पनीलाई केही ‘हिचकिचाहट’ महसुस भएको स्वीकार गरेका थिए । तर, नयाँ प्रविधिलाई संसारमाझ ल्याएर नै यसका चुनौती र अवसरबारे सिक्न सकिने कम्पनीको धारणा छ ।
नेपालमा पनि सोराद्वारा निर्मित एआई भिडिओको बाढी नै लागेको छ । हाल नेपाली क्रिकेटलाई विदेशी सेलिब्रेटीले समर्थन गरेको, नेपालीले ओलम्पिक्समा गोल्ड मेडल जितेको जस्ता भिडिओ बनाइएका छन् । गोल्ड मेडल जितेको भिडिओमा पनि उनीहरूले भाडा माझेर, सुतेर जितेको चित्रण गरिएको छ ।
शब्दकै भरमा आवाजसहितका भिडिओ बनाउने गुगलको ‘भिओ थ्री’ मोडेल सार्वजनिक भएपछि नेपाली समाजमा त्यसको नकारात्मक प्रभाव परेको देखिएको थियो । खासगरी आपत्तिजनक, अश्लील अर्थ लाग्ने, स्त्रीद्वेषी र लैङ्गिक अल्पसङ्ख्यकलाई अपमान गर्ने किसिमका भिडिओ देखिएका थिए । अन्य भाषामा फिल्टरको सुविधा भए पनि नेपाली, त्यसमा पनि मौलिक शब्द र लवज प्रयोग हुँदा, गुगलको टुलले त्यसलाई पहिचान गर्न नसकेको देखिन्थ्यो ।
यस्तै ‘सोरा’ प्लेटफर्म हाल केही देशका सीमित प्रयोगकर्तामाझ मात्र उपलब्ध छ । त्यति हुँदा पनि यसको प्रभाव नेपाली समाजमा देखिन थालिसकेको छ । यो विश्वव्यापी रूपमा उपलब्ध भएको खण्डमा यसले नेपाली समाजमा पार्न सक्ने सम्भावित प्रभावबारे अहिलेदेखि नै बहस हुन थालेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ ११:१३
