पूर्ण रूपमा एआईबाट तयार पारिएको सिरिज ‘महाभारत: एक धर्मयुद्ध’ सार्वजनिक
कात्तिक ९, २०८२ १४:२१
काठमाडौँ । पूर्ण रूपमा एआईबाट तयार पारिएको पौराणिक कथामा आधारित सिरिज ‘महाभारत: एक धर्मयुद्ध’ सिरिज सार्वजनिक भएको छ । २५ अक्टोबर (शनिबार) देखि जियो हटस्टारमा उक्त सिरिज रिलिज भएको हो ।
कूल १०० एपिसोड रहेको बताइएको यो सिरिज आइतबार साँझ ७:३० देखि भने स्टार प्लसबाट समेत हेर्न सकिने छ । यो सिरिज हिन्दी भाषामा प्रसारण हुने छ ।
सिरिजको ट्रेलरअनुसार कथामा कुरु क्षेत्रकी रानी सत्यवतीदेखि पाण्डव र कौरवबिचको युद्धसम्मका कथाहरू समेटिएको देखिन्छ ।
युद्धका सिनलाई जीवन्त बनाउन र पात्रहरूको मुहारमा वास्तविक जस्तो भावना ल्याउन निकै मेहेनत समेत गरिएको छ । जियो हटस्टार र कलेक्टिभ आर्टिस्ट नेटवर्कले संयुक्त रूपमा ल्याएको यस सिरिजले महाभारतको कथामा रहेको कर्म, धोका र युद्धको कथालाई एआई प्रविधि मार्फत जीवन्त बनाएको बताइएको छ ।
कलेक्टिभ आर्टिस्ट नेटवर्कका संस्थापक तथा सीईओ विजय सुब्रमण्यमले यस परियोजनालाई भारतीय मनोरञ्जनको इतिहासमा नयाँ अध्याय भनेका छन् । यस सिरिजले आफ्ना हजुरबुबा र हजुरआमाबाट कृष्ण, अर्जुन र दुर्योधनका कथा सुनेर हुर्किएका दर्शकलाई पुराना दिनतर्फ फर्काउने बताएका छन् ।
सिरिजको रिलिजलाई लिएर कतिपय समर्थकहरूले एआईबाट बनेको सिरिज हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । एआईको प्रयोगबाट जीवन्त देखिने सिनेम्याटिक अनुभव सिर्जना गर्नु कल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै तारिफ गरेका छन् ।
केहीले भने कलाकारको काम एआईले खोस्न सक्ने भन्दै चिन्ता पनि व्यक्त गरिरहेका छन् । कतिपयले एआईबाट बनाइएको महाभारतलाई स्वीकार गर्न गाह्रो हुने बताएका छन् ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १४:२२
