काठमाडौँ । अनरले ठुलो ब्याट्री क्षमता भएको स्मार्टफोन अनर पावर २ (Honor Power 2) मा काम गरिरहेको देखिएको छ । लामो समयदेखि अनर कम्पनीले ठुलो ब्याट्री भएको स्मार्टफोनमा काम गरिरहेको हल्ला सुनिएको थियो । तर पछिल्लो समय चीनबाट बाहिरिएको नयाँ लिकले उक्त हल्लालाई थप बल पुर्याएको हो ।
लिक भएका विवरण अनुसार अनर पावर २ मा १०,००० एमएएच (±) ब्याट्री हुने अपेक्षा गरिएको छ । यति ठुलो ब्याट्री क्षमताका बाबजुद पनि फोनको मोटाइ करिब ८.० एमएम मात्र हुने बताइएको छ, जुन अत्यन्तै प्रभावशाली मानिएको छ ।
यसबाट अनरले डिभाइसको डिजाइन अप्टिमाइज गर्न महत्त्वपूर्ण काम गरेको सङ्केत मिलेको छ । अनर पावर २ मा मिडियाटेक डाइमेन्सिटी ८५०० चिप हुने अपेक्षा गरिएको छ, जुन चिप आफैँमा अझै सार्वजनिक हुन बाँकी छ ।
अन्य अनुमानित विशेषताहरूमा १.५ के एलटीपीएस फ्ल्याट डिस्प्ले, एउटा अप्टिकल फिङ्गरप्रिन्ट सेन्सर र ड्रप रेसिस्टेन्स बडी समावेश छन् ।

अनर पावर २ यसै वर्षको अप्रिलमा लन्च भएको पहिलो पुस्ताको अनर पावरको उत्तराधिकारीको रूपमा आउनेछ । यसअघि अनर पावरमा पनि ८,००० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको थियो ।
जसमा ६६ वाट वायर्ड चार्जिङ सुविधा रहेको थियो र त्यसको मोटाइ पनि ८ एमएम कायम गरिएको थियो । अनर पावरका अन्य मुख्य विशेषताहरूमा ६.७८ इन्चको एमोलेड प्यानल, १२० हर्ज रिफ्रेस दर, ४ हजार निट्सको उच्च ब्राइटनेस र एचडीआर सपोर्ट रहेको थियो ।
त्यसमा स्न्यापड्रागन ७ जेन ३ प्रोसेसर रहेको थियो भने ५० एमपी + ५ एमपी को रियर क्यामेरा सेटअप र १६ एमपीको फ्रन्ट क्यामेरा प्रयोग गरिएको थियो । अनर पावरको ५१२ जीबी मोडेलले स्याटलाइट कनेक्टिभिटी पनि सपोर्ट गर्छ ।
यीमध्ये केही सुविधाहरू अपेक्षित अपग्रेडका साथ अनर पावर २ मा समावेश हुने सम्भावना रहेको बताइएको छ । यद्यपि अनरले आधिकारिक रूपमा कुनै पनि जानकारी पुष्टि गरेको छैन ।
यो डिभाइस सन् २०२६ को पहिलो त्रैमासिकमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसरी कम्पनीले ब्याट्री क्षमता, पर्फर्मेन्स र पातलो डिजाइनलाई कसरी सन्तुलनमा राख्छ भन्ने कुरा हेर्न धेरै कुर्नु नपर्ने हुन सक्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १०, २०८२ १४:५५
